नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पुँजी बजार सुधारका प्रमुख प्राथमिकता सार्वजनिक गर्दै लगानीकर्ता संरक्षण, बजारको पारदर्शिता तथा नियामकीय सुधारलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम अघि बढाउने जनाएको छ।
बोर्डले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार सामाजिक सञ्जालमार्फत बजार प्रभावित गर्ने गतिविधि, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार तथा वित्तीय ठगीविरुद्ध कडा नियामकीय निगरानी गरिनेछ।
विशेषगरी आफूलाई वित्तीय विश्लेषक वा फिनफ्लुएन्सरका रूपमा प्रस्तुत गर्दै लगानीकर्तालाई प्रभावित पार्ने गतिविधिलाई नियमन गर्ने व्यवस्था गरिने बोर्डले जनाएको छ।
धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीचको समन्वयलाई थप सुदृढ बनाइने पनि बोर्डको योजना छ।
प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) लाई थप व्यवस्थित बनाउन कम्पनीको वित्तीय अवस्था, व्यवस्थापकीय क्षमता तथा व्यवसायिक पक्षको वस्तुपरक मूल्यांकनपछि मात्र अनुमति दिने व्यवस्था गरिने बोर्डले जनाएको छ।
यसका लागि सरोकारवालाबाट प्राप्त सुझावसमेत समेटेर नीतिगत सुधार गरिने उल्लेख गरिएको छ।
मार्जिन कारोबारसम्बन्धी निर्देशिका यसअघि नै जारी भइसके पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको अवस्थामा नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ तथा धितोपत्र दलाल व्यवसायीबीच समन्वय गरी यथाशीघ्र सञ्चालनमा ल्याइने बोर्डको योजना छ।
सूचीकरणपछि बजारमा हुने माग–आपूर्तिको असन्तुलन कम गर्न सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को लक–इन अवधि तथा बाँडफाँटसम्बन्धी व्यवस्थाको पुनरावलोकन गरिने भएको छ।
त्यस्तै, लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारमा लाग्ने शुल्कसमेत पुनरावलोकन गरिने बोर्डले जनाएको छ।
सूचकांक प्रणालीमा पनि परिवर्तनको तयारी गरिएको छ।
हालको नेप्से सूचकाङ्कलाई अल इक्विटी इन्डेक्स का रूपमा कायम राख्दै बजारमा स्वतन्त्र रूपमा कारोबारयोग्य (फ्री फ्लोट) सेयरका आधारमा नयाँ बेन्चमार्क सूचकांक विकास गर्ने नीति बोर्डले लिएको छ।
सामाजिक सञ्जालमार्फत सर्वसाधारणबाट आइपिओ अघि पुँजी संकलन गर्ने वा संगठित संस्थाले अपनाउने अभ्यासलाई समेत नियमनको दायरामा ल्याइने बोर्डले जनाएको छ।
बोर्डका अनुसार यी सुधारका अतिरिक्त आगामी दशकका लागि तयार गरिएको 'नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३', आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा त्यसको कार्यान्वयन कार्ययोजना पनि बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।
बोर्डले यी कार्यक्रममार्फत नेपालको पुँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्दै राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी आर्थिक रूपान्तरणमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।