नेपाल धितोपत्र बोर्ड (सेबन)का अध्यक्ष गोपाल भट्टले बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने 'सर्ट सेलिङ' प्रणाली आगामी तीन महिनाभित्र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको बताएका छन्।
उनले नेपालका लगानीकर्तामा सेयर बजार सधैं बढिरहनुपर्छ भन्ने मानसिकता रहेको उल्लेख गर्दै यस्तो सोच परिवर्तन गर्न आवश्यक रहेको बताए।
'नेपालका लगानीकर्तामा बजार सधैं बढ्नुपर्छ भन्ने मान्यता छ। बजार ३ हजार वा ५ हजार विन्दुसम्म पुगे पनि अपेक्षाको कुनै सीमा हुँदैन। तर बजार घट्नसाथ चिन्ता र असन्तुष्टि देखिन्छ,' उनले भने।
अध्यक्ष भट्टले आफूले बजार घटेकै कारण जीवनमै पहिलो पटक लगानीकर्ताबाट घेराउ र विरोधसमेत सामना गर्नुपरेको अनुभव सुनाए।
'बजार ५ हजार विन्दुमा पुगेर त्यसपछि केही घट्यो भने पनि घेराउ नै हुन्छ। बजार सधैं बढिरहनुपर्छ भन्ने प्रवृत्ति विकास भएको छ,' उनले भने।
उनका अनुसार अहिलेको बजार संरचनामा सेयरको मूल्य बढेपछि मात्र लगानीकर्ताले प्रतिफल लिन सक्छन्। त्यसलाई परिवर्तन गर्दै बजार ओरालो लाग्दा पनि नाफा कमाउन सक्ने नयाँ संयन्त्र ल्याउन लागिएको हो।
यसका लागि सरकारले बजेटमार्फत घोषणा गरेको 'सर्ट सेलिङ' प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए।
सर्ट सेलिङअन्तर्गत बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले अन्य लगानीकर्ताबाट सेयर सापटी लिएर उच्च मूल्यमा बिक्री गर्न सक्नेछन्।
त्यसपछि मूल्य घटेपछि सोही सेयर सस्तोमा किनेर फिर्ता गर्दा बीचको मूल्य अन्तर नै नाफा हुनेछ।
भट्टका अनुसार यो व्यवस्थाले बजारमा मूल्य बढ्ने अपेक्षा राख्ने र घट्ने अपेक्षा राख्ने दुवै प्रकारका लगानीकर्तालाई अवसर दिनेछ।
यसले बजारमा एउटै दिशाको मनोविज्ञान घटाएर फरक–फरक विश्लेषण र अपेक्षाबीच सन्तुलन कायम गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।