राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर भुसालले पछिल्ला सय दिनमा सेयर बजार करिब पाँच खर्ब रूपैयाँ खरानी भएको भन्दै सरकारले बजारमा नीतिगत स्थिरता कायम गरेर लगानीकर्ताको विश्वास फर्काउनु पर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै भुसालले आफू ७० लाख लगानीकर्ताको चित्कार बोकेर संसदमा उभिएको बताए।
'विदेशमा रगत र पसिना बगाएर श्रम गर्ने श्रमिक हुन् वा गाउँ–गाउँमा दुःख गरेर कमाएको बचत सेयर बजारमा लगानी गर्ने नेपाली, उनीहरूको उदास मन र निराश अनुहारले मलाई झस्काइरहेको छ,'उनले भने।
उनले नीतिगत अस्थिरताका कारण ठूला लगानीकर्ता समेत त्रसित भएको र पुँजी पलायनको जोखिम बढ्दै गएको दाबी गरे।
'नीतिगत अस्थिरताको चक्रव्यूहका कारण आज ठूला लगानीकर्ता त्रसित भएका छन्। पुँजी पलायनको डरलाग्दो खेल भइरहेको छ,' उनले भने।
केही समयअघिसम्म दैनिक ११/१२ अर्ब रूपैयाँसम्म कारोबार हुने सेयर बजार अहिले ३/४ अर्ब रूपैयाँमा सीमित भएको उनले बताए।
कारोबारमा आएको यो गिरावटले सरकारी राजस्वमा समेत असर परेको उनको भनाइ छ।
'हिजो दैनिक ११ देखि १२ अर्बको कारोबार हुने बजार एक्कासी तीन–चार अर्बमा खुम्चिँदा राज्यको राजस्व त सुक्यो नै, बितेका सय दिनमा पाँच खर्ब रूपैयाँ बराबरको पुँजी खरानी भयो,' उनले भने।
यो केवल तथ्यांकको विषय नभई लाखौं नेपालीको आर्थिक भविष्यसँग जोडिएको विषय भएको उनले उल्लेख गरे।
'यो केवल सुख्खा अंक होइन, लाखौं नेपालीको घरघरको चुलो निभ्ने अवस्था हो,' उनले भने।
भुसालले सरकारलाई सेयर बजारमा त्रास फैलाउने होइन, नीतिगत स्थिरतामार्फत लगानीकर्तामा विश्वास जगाउने वातावरण बनाउन आग्रह गरे।
'बजारमा त्रास होइन, नीतिगत स्थिरताको जगमा विश्वास जगाइयोस्। तातो घाममा पसिना बगाएर देशको अर्थतन्त्र धान्ने तमाम नेपालीका सपनालाई बजारको यो हुरीबाट जोगाउन सरकारसँग आग्रह गर्दछु,' उनले भने।