नेपालका लगानीकर्तामा बजार सधैं बढ्नुपर्छ भन्ने मान्यता देखिएको धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले बताएका छन्।
बुधबार अर्थसमितिमा भएको छलफलमा अध्यक्ष भट्टले यस्तो बताएका हुन्।
'बजार ५ हजार विन्दुमा पुगेर त्यसपछि केही घट्यो भने पनि घेराउ नै हुन्छ। बजार सधैं बढिरहनुपर्छ भन्ने प्रवृत्ति विकास भएको छ,' उनले भने।
अध्यक्ष भट्टले आफूले बजार घटेकै कारण जीवनमै पहिलो पटक लगानीकर्ताबाट घेराउ र विरोधसमेत सामना गर्नु परेको अनुभव सुनाए।
'बजार ३ हजार वा ५ हजार विन्दुसम्म पुगे पनि अपेक्षाको कुनै सीमा हुँदैन। तर बजार घट्नसाथ चिन्ता र असन्तुष्टि देखिन्छ,' उनले भने।
उनले नेपालका लगानीकर्तामा सेयर बजार सधैं बढिरहनुपर्छ भन्ने मानसिकता रहेको उल्लेख गर्दै यस्तो सोच परिवर्तन गर्न आवश्यक रहेको बताए।
अध्यक्ष भट्टले बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने 'सर्ट सेलिङ' प्रणाली आगामी तीन महिनाभित्र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको समेत बताएका छन्।