नेपाल बीमा प्राधिकरणले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख तयार गरी आगामी साउन १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ ।
प्रदेश सरकार, स्थानीय सरकार र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका साथै वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न संस्थाहरूले बीमा मार्फत वन्यजन्तुबाट हुने क्षतिको रक्षावरण गर्ने व्यवस्था गर्न प्राधिकरणसँग अनुरोध गर्दै आएका र वन्यजन्तु जोखिमलाई बीमा प्रणालीमा आवद्ध गरी व्यवस्थापन गर्दा प्रभावकारी हुने देखिएकाले प्राधिकरणले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख स्वीकृत गरेको हो।
सो बीमालेख तयार गर्दा प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र विभिन्न राष्ट्रिय निकुञ्ज तथा आरक्षका पदाधिकारी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र वन उपभोक्ता समितिका प्रतिनिधि, वन्यजन्तु विज्ञ र वन्यजन्तु प्रभावित क्षेत्रका बासिन्दाहरूसँगको छलफल गर्नुका साथै सुझावहरू लिइएको थियो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट प्राप्त तथ्यांकअनुसार, निकुञ्ज तथा आरक्षका मध्यवर्ती क्षेत्र र अन्य क्षेत्रमा वन्यजन्तुबाट मानवीय, भौतिक सम्पत्ति, कृषिबाली तथा पशुधनहरूमा हुने क्षतिका कारण नेपाल सरकारले प्रत्येक वर्ष १५ करोड रूपैयाँभन्दा बढी राहत स्वरुप वन्यजन्तु प्रभावितहरूलाई वितरण गर्ने गरेको छ।
विगत पाँच वर्षको अवधिमा नेपाल सरकारले वन्यजन्तु प्रभावितहरूलाई राहत स्वरुप करिब ७८ करोड रूपैयाँ वितरण गरेको छ।
प्राधिकरणबाट इजाजतप्राप्त निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख जारी गर्न सक्नेछन्।
वन्यजन्तु जोखिम केन्द्रित बीमालेख एकीकृत प्रकृतिको हुनेछ र यसको अवधि एक वर्षको हुनेछ।
यस बीमाले व्यक्तिगत दुर्घटना, घर तथा भौतिक संरचना, पशुधन र कृषि बालीमा वन्यजन्तुको आक्रमणबाट हुने क्षतिको रक्षावरण गर्नेछ।
व्यक्तिगत दुर्घटनाअन्तर्गत दुर्घटनाजन्य मृत्यु वा पूर्ण अशक्ततामा अधिकतम १० लाख रूपैयाँ, अस्थायी पूर्ण अशक्ततामा ५ लाख रूपैयाँ, गम्भीर घाइतेको उपचारमा अधिकतम १ लाख रूपैयाँ तथा सामान्य घाइतेको उपचारमा अधिकतम २० हजार रूपैयाँसम्मको सुविधा उपलब्ध हुनेछ।
यसका लागि बीमाशुल्क १ हजार ५०० रूपैयाँ तोकिएको छ।
त्यसैगरी घर तथा भौतिक संरचनामा अधिकतम ५ लाख रूपैयाँ, पशुधनमा १ लाख रूपैयाँ र कृषि बालीमा ५० हजार रूपैयाँसम्मको रक्षावरण हुनेछ।
बीमाको अवधिभित्र सबै जोखिम एकैपटक नघटे पनि बीमालेख अवधि समाप्त नहुँदासम्म कायम रहनेछ।
कृषि प्रयोजनका लागि पालिएका पशुधन मात्र बीमाको दायरामा पर्नेछन्।
घर, भौतिक संरचना वा पशुधनको स्वामित्व परिवर्तन भएमा बीमितले बीमकलाई जानकारी दिनुपर्नेछ र बीमकले नयाँ धनीको नाममा निःशुल्क नामसारी गरिदिनुपर्ने व्यवस्था गरिएको छ।
स्थायी वा अस्थायी पूर्ण अशक्तता मान्यताप्राप्त चिकित्सकबाट प्रमाणित हुनुपर्नेछ भने कृषि बालीमा बीमितले लगाएको बालीलाई बीमांक रकमको सीमासम्म रक्षावरण गरिनेछ।
क्षति भएमा बीमितले क्षतिको विवरण सुरक्षित राख्नुपर्नेछ र सर्जमिन मुचुल्का तयार भएपछि मात्र क्षतिग्रस्त सामग्री हटाउन सक्नेछ।
बीमालेख हराए पनि दाबी भुक्तानीमा सहजीकरण गरिने व्यवस्था छ।
दुर्घटनाका कारण बीमित वा परिवारका सदस्यको मृत्यु भएमा बीमांक रकमको सीमाभित्र रही घटना भएको सात दिनभित्र शव व्यवस्थापन तथा काजक्रिया खर्चस्वरूप ५० हजार रूपैयाँ उपलब्ध गराइनेछ।
मानव मृत्युबाहेक अन्य सबै दाबीमा बीमकले ५ प्रतिशत रकम कट्टा गरेर भुक्तानी गर्नेछ।
वन्यजन्तुको आक्रमणबाट बसोबासका लागि प्रयोग हुने पक्की, कच्ची, फुस, टिन वा माटोका घर तथा तिनको परिसरभित्र रहेका गोठ, भान्साघर, शौचालय, पर्खालजस्ता संरचनामा भएको क्षति अधिकतम बीमांकसम्म रक्षावरण हुनेछ।
वन्यजन्तुको आक्रमणबाट दुर्घटना वा क्षति भएमा बीमितले ४८ घण्टाभित्र बीमकलाई जानकारी गराउनुपर्नेछ र बीमकले सूचना प्राप्त हुनासाथ दाबी प्रक्रिया सुरू गर्नु पर्नेछ।
यस बीमाले हात्ती, गैंडा, बाघ, भालु, चितुवा, स्याल, मृग, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिङ्गर, नीलगाई, बाँदर, दुम्सी र कृष्णसारबाट हुने जोखिमलाई रक्षावरण गर्नेछ।