नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको व्यवस्थामा गुणस्तरीय कम्पनीलाई प्रोत्साहन गर्ने नयाँ व्यवस्था गरेको छ।
अब वित्तीय रूपमा सबल सूचीकृत कम्पनीको सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले हालको सीमाभन्दा बढी कर्जा दिन सक्ने भएका छन्।
हाल बैंक तथा वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रकाशित पछिल्लो १८० कार्यदिनको अन्तिम मूल्यको औसत वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको अधिकतम ७० प्रतिशतसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न पाउँछन्।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस व्यवस्थामा नयाँ प्रावधान थप्दै कम्पनीको सबलताको आधारमा कर्जा मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) बढीमा १० प्रतिशत बिन्दुसम्म बढाउन सकिने व्यवस्था गरेको हो।
अर्थात् उच्च मूल्यांकन प्राप्त कम्पनीको सेयर धितोमा अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिनेछ। यसका लागि बैंक तथा वित्तीय संस्थाले कम्पनीको सबलता मूल्यांकन गर्ने स्पष्ट विधिसहितको ‘प्रडक्ट पेपर’ तयार गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार मूल्यांकन गर्दा कम्तीमा कम्पनीको चुक्ता पुँजीको आकार, धितोपत्र बजारमा सूचीकृत भएको अवधि, निरन्तर नाफा आर्जन र लाभांश वितरणको अवस्था, क्रेडिट रेटिङ, नियामकीय व्यवस्था पालना तथा नियमित साधारणसभा सम्पन्न गरेको अवस्थालाई आधार बनाउनुपर्नेछ।
यी सूचकका आधारमा उच्च अंक प्राप्त गर्ने कम्पनीको सेयरमा मात्र हाल कायम रहेको ७० प्रतिशतको सीमामा बढीमा १० प्रतिशत बिन्दुसम्म थप गर्न सकिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले तयार गर्ने यस्तो प्रडक्ट पेपर आफ्नै वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरेको छ।
अहिलेसम्म सबै सूचीकृत कम्पनीका लागि एउटै कर्जा मूल्य अनुपात लागू हुँदै आएको थियो। नयाँ व्यवस्थापछि भने कम्पनीको वित्तीय अवस्था, सुशासन र नियामकीय पालनाका आधारमा फरक–फरक कर्जा सीमा निर्धारण हुने भएको छ।