बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १ र २ रूपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।
नयाँ सिक्काको आकार, तौल, प्रयोग हुने धातु तथा डिजाइनमा परिवर्तन गरिनेछ।
सिक्काको आकार तथा स्वरूप परिवर्तन गर्न मन्त्रिपरिषदको स्वीकृति आवश्यक पर्ने व्यवस्था रहेकाले सोही अनुसार निर्णय भएको राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरू पौडेलले बताए।
हाल १ रूपैयाँ सिक्काको तौल ४ ग्राम र २ रूपैयाँ सिक्काको तौल ५ ग्राम छ। नयाँ डिजाइन अनुसार १ रूपैयाँ सिक्काको तौल ३.२ ग्राम र २ रूपैयाँ सिक्काको ३.८ ग्राम हुनेछ।
अहिलेसम्म यी सिक्का विभिन्न धातुको मिश्रणबाट बनाइँदै आएका छन्। अब भने स्टेनलेस स्टिलबाट निर्माण गरिनेछन्।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक अनुज दाहालका अनुसार हाल प्रयोग हुँदै आएको धातु स्वास्थ्य र वातावरण दुवैका दृष्टिले उपयुक्त नभएकाले स्टेनलेस स्टिल प्रयोग गर्न लागिएको हो।
अहिलेका सिक्का इलेक्ट्रोप्लेटेड विधिबाट मिश्रित धातुले बनाइन्छन्। यस्ता धातु उत्पादनका क्रममा साइनाइडजस्ता रसायन प्रयोग हुने भएकाले स्वास्थ्य तथा वातावरणीय जोखिमको विषय विभिन्न अध्ययनले औंल्याएका छन्। यद्यपि नेपालमा आयात हुने सिक्का आवश्यक रासायनिक प्रशोधनपछि मात्र आउने गरेको उनले बताए।
त्यस्तै सिक्का पुरानो हुँदै जाँदा हरियो लेउ लागे जस्ता, धेरै मैला देखिने भएकाले पनि धातु परिवर्तन गर्न लागिएको उनले बताए।
सिक्का उत्पादनको लागत घटाउने उद्देश्य पनि धातु परिवर्तनको अर्को कारण हो। हाल १ र २ रूपैयाँ सिक्का उत्पादन गर्न नै अंकित मूल्यभन्दा बढी खर्च लाग्छ।
करिब चार वर्षअघि टकमरी गरिएका १ रूपैयाँ सिक्काको उत्पादन लागत प्रतिगोटा २ रूपैयाँ ४० पैसा पुगेको थियो। स्टेनलेस स्टिल प्रयोग गरेपछि यो लागत घट्ने अनुमान छ।
हाल भारत लगायतका मुलुकमा पनि स्टेनलेस स्टिलका सिक्का प्रचलनमा छन्। भविष्यमा नेपाल वा छिमेकी मुलुकमै यस्ता सिक्का टकमरी गर्नुपर्ने अवस्था आएमा पनि स्टेनलेस स्टिल बढी उपयुक्त हुने दाहालको भनाइ छ।
हाल नेपालका सिक्का पोल्यान्डमा टकमरी हुँदै आएका छन्।
२ रूपैयाँ सिक्कामा प्रयोग हुने धातु र आकार परिवर्तन भए पनि त्यसमा रहेका चित्रसहितका अन्य विशेषता भने यथावत रहनेछन्।
दाहालका अनुसार २ रूपैयाँ सिक्कामा अद्यावधिक नेपालको नक्सा यथावत रहनेछ। १ रूपैयाँको सिक्कामा भने उक्त नक्सा रहने छैन।
उनका अनुसार १ रूपैयाँ सिक्काको आकार सानो हुने भएकाले त्यसमा नेपालको नक्सा स्पष्ट र आकर्षक ढंगले अटाउन कठिन हुने देखिएकाले डिजाइन परिवर्तन गरिएको हो।
यसको सट्टा आगामी आर्थिक वर्षको बजेटमा प्रवर्द्धन गर्ने उल्लेख गरिएको मुस्ताङस्थित आठौं शताब्दीको ऐतिहासिक लो घ्याकर गुम्बाको चित्र १ रूपैयाँको सिक्कामा राखिनेछ।