अर्थमन्त्री डा. स्वर्णिम वाग्लले सेयर बजारमा सम्पत्ति घटेको र अझै घट्दै छ भनेर केही पक्षले हल्ला मच्चाइरहेको बताएका छन्।
अर्थमन्त्री वाग्लेको सचिवालयबाट सामाजिक सञ्जाल मार्फत् जारी सन्देशमा यस्तो उल्लेख गरिएको हो।
सचिवालयले सेयर बजारबारे फैलाइएका अफवाहप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गर्दै सरकारले बजारलाई अस्थिर बनाउने ढंगले काम नगरेको स्पष्ट पारेको छ।
नयाँ आर्थिक वर्ष २०८३-८४ को अवसरमा जारी सन्देशमा सचिवालयले सरकार बनेयता सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्तामा निराशा र आक्रोश देखिएकोप्रति आफूहरू जानकार रहेको उल्लेख गरेको छ।
'सम्पत्तिको आकार घटेको अंकमा देखिनु र अझै घट्ने हल्ला फैलाइँदा लगानीकर्तामा आक्रोश पैदा हुनु स्वाभाविक हो,' सन्देशमा भनिएको छ।
सचिवालयले सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण अंग भएको उल्लेख गर्दै अर्थतन्त्रका धेरै सूचक सुधारोन्मुख रहेको दाबी गरेको छ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको, सरकारले कर नीतिमार्फत खर्च र लगानीलाई प्रोत्साहन गरेको तथा राजस्व विवादमा परेकालाई ऐतिहासिक छुट सुविधा दिएको पनि उल्लेख गरिएको छ।
त्यसैगरी, स्थिर सरकार, विज्ञ अर्थमन्त्री तथा नियामक निकायमा पारदर्शी र सक्षम नेतृत्व नियुक्त भएकाले सेयर बजार सुधारका योजनाबद्ध काम अघि बढिरहेको सचिवालयको भनाइ छ।
सन्देशमा नियामक निकायलाई प्रभावमा पारेर बजारमा विकृति सिर्जना गर्ने प्रयास गर्नेहरू अनुसन्धानको दायरामा परेको उल्लेख गर्दै अहिले बजारबारे नकारात्मक भाष्य निर्माण गरी असामान्य अवस्था सिर्जना गर्न खोजिएको आरोप लगाइएको छ।
सरकारले कम बोल्ने तर धेरै काम गर्ने नीति लिएकाले त्यसको फाइदा उठाउँदै केही समूहले परिस्थितिजन्य लाभ लिन भ्रामक प्रचार गरिरहेको सचिवालयको दाबी छ।
विशेषगरी फलानो व्यक्ति पक्राउ पर्न लागेको वा अमुक व्यक्तिमाथि अनुसन्धान भइरहेको जस्ता प्रायोजित हल्ला फैलाइएको सूचना प्राप्त भएको उल्लेख गर्दै सचिवालयले त्यसमा विश्वास नगर्न आग्रह गरेको छ।
'सरकार त्यसरी काम गरिरहेको छैन,' सचिवालयले स्पष्ट पारेको छ।
सचिवालयले सेयर बजारसम्बन्धी आधिकारिक जानकारीका लागि क्लबहाउस, ह्वाट्सएप वा म्यासेन्जर समूह तथा अनौपचारिक व्यक्तिहरूमा भर नपर्न पनि लगानीकर्तालाई सुझाव दिएको छ।
धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न, अफवाहको पछि नलाग्न र आवश्यक परे आधिकारिक सरकारी निकायबाट जानकारी लिन सचिवालयले आग्रह गरेको छ।
साथै नयाँ आर्थिक वर्ष २०८३-८४ को शुभकामना व्यक्त गर्दै लगानीकर्तालाई नआत्तिन पनि अपिल गरेको छ।