नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको सञ्चालक समितिको वर्तमान संरचना र अर्थसचिवको भूमिकालाई यथावत राख्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले सञ्चालक समितिको संख्या, योग्यता र संरचना अहिले उपयुक्त रहेको भन्दै अनावश्यक परिवर्तन नगर्न आग्रह गरे।
'सञ्चालक समितिको संख्या र योग्यता ठीक छ। राम्रोसँग चलेको ठाउँमा चलाउन पर्दैन,' उनले भने।
गभर्नर पौडेलले सञ्चालक समितिमा सदस्य संख्या धेरै हुँदा निर्णय प्रक्रिया जटिल बन्ने भएकाले हालको संरचनाले काम गर्न सहज भएको बताए।
अर्थसचिव बोर्डमा रहँदा पनि कार्यसम्पादनमा कुनै समस्या नभएको उनको भनाइ थियो।
'अर्थसचिवको भूमिका ठीक छ। कामकारबाही गर्न सजिलो भएको छ,' पौडेलले भने।
यद्यपि, गभर्नर र डेपुटी गभर्नर नियुक्तिका लागि तोकिएको योग्यतासम्बन्धी व्यवस्थामा भने पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।
उनले ऐनमा यस्तो योग्यता नराख्न आग्रह गरे, जसले सीमित एक वा दुई जनालाई मात्र अनुकूल हुने अवस्था सिर्जना गरोस्।
'गभर्नर र डेपुटी गभर्नरको योग्यता परिवर्तन गर्ने विषयमा विचार गर्नुपर्छ। एक–दुई जनालाई मात्र अनुकूल हुने गरी योग्यता तोक्नु हुँदैन,' उनले भने।
उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका सचिव वा प्राध्यापकजस्ता पद आफैंमा आवश्यक योग्यता भएको उल्लेख गर्दै यस्ता अनुभव र पृष्ठभूमिलाई पनि ऐनले समेट्नुपर्ने धारणा राखे।