वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई गभर्नर बन्न रोक्न नहुने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले बताएका छन्।
आज (आइतबार) राष्ट्र बैंक ऐन संशोधन मस्यौदाको विषयमा प्रतिनिधि सभाको अर्थसमितिको बैठकमा भएको छलफलमा उनले यस्तो बताएका हुन्।
राष्ट्र बैंक ऐन संशोधन मस्यौदामा वाणिज्य बैंकका प्रमुख राष्ट्र बैंकको गभर्नर बन्न पाउने व्यवस्था हटाउन प्रस्ताव गरिएको छ।
गभर्नरको नियुक्ति तथा सञ्चालक नियुक्ति प्रक्रियालाई थप स्पष्ट र प्रभावकारी बनाउन भन्दै यस्तो प्रस्ताव गरिएको संशोधन मस्यौदाको तीन महलमा उल्लेख छ।
कोइरालाले डेपुटी गभर्नरको संख्या तीन पुर्याउन र आवश्यकता परे राष्ट्र बैंक बाहिरबाट विज्ञ नियुक्त गर्न समेत सकिने धारणा राखे।
उनले राष्ट्र बैंकको कारबाहीमा परेका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई वित्तीय संस्थामा हुने सामान्य प्राविधिक त्रुटिमा गरिने कारबाहीकै आधारमा स्वतः अयोग्य ठहर गर्ने व्यवस्था गर्न नहुनेमा समेत जोड दिए।