अहिले सेयर बजारमा गरिएको लगानीलाई असारको रोपाइँसँग पनि तुलना गरेर हेरिन्छ।
खेतीमा 'मानो रोपेर मुरी उब्जाउने' भन्ने कथनीजस्तै बजारमा लगानी गरेर छोटो समयमै फसल (लाभांश) भित्र्याउन सकिने समय भएकाले यस्तो तुलना गरिएको हो।
सेयर बजारमा यस्तो समय सामान्यतया चैतबाट सुरू हुन्छ। यो वर्ष भने यस्तो मौका पछिसम्म उपलब्ध भयो। बजार यही समयमा घटेकाले निकै पछिसम्म बजारमा सस्तो मूल्यमा समेत सेयर पाइने अवस्था बन्यो।
नयाँ आर्थिक वर्ष २०८३/८४ सुरू भएसँगै बजारमा सूचीकृत संस्थाहरूले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गर्न थालिसकेका छन्। त्यसैले अहिले वित्तीय विवरणकै आधारमा लाभांश सम्भावना केलाएर लगानी गर्न सकिने अवस्था देखिएको छ।
आइतबार सूचीकृत दुई संस्थाको वित्तीय विवरण प्रकाशित भयो — फर्स्ट माइक्रोफाइनान्स र कामना सेवा विकास बैंक।
फर्स्ट माइक्रोफाइनान्स
यसको नाफा ७३ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा १० करोड ९८ लाख रूपैयाँ नाफा कमाएको यसले आर्थिक वर्ष २०८२/८३ मा १९ करोड सात लाख रूपैयाँ नाफा कमाएको हो।
यसको नाफा बढ्नुमा मुख्य योगदान यसअघि जोखिमका लागि राखिएको प्रावधान फिर्ता (राइट ब्याक) नै हो।
खुद ब्याज आम्दानी सामान्य बढेको छ। यसअघि यस्तो आम्दानी २१ करोड १६ लाख रहेकामा यो रकम २२ करोड ७४ लाख रूपैयाँ पुगेको छ। यसमा सात प्रतिशतले वृद्धि भएको हो।
यसले जोखिमका लागि राखिएको ११ करोड ८६ लाख रूपैयाँ राइट ब्याक गरेको छ। यसअघि मात्रै ९४ लाख रूपैयाँ यसरी राइट ब्याक गरेको थियो।
निष्क्रिय कर्जा तुलनात्मक रूपमा यो क्षेत्रका अन्य कम्पनीहरूभन्दा कम छ। फर्स्ट माइक्रोफाइनान्सको यस्तो निष्क्रिय कर्जा २.८८ प्रतिशत छ। यसअघि यसको यस्तो कर्जा ३.८४ प्रतिशत थियो। संस्थाहरूमा कर्जा लगानी गर्ने भएकाले पनि यसको निष्क्रिय कर्जा कम छ।
थोक कर्जा अर्थात् लघुवित्त र सहकारीहरूलाई कर्जा दिने यसको व्यवसाय सुस्त भएको छ। यसअघि संस्थाहरूमा ६ अर्ब कर्जा लगानी गरेको यसले ४ अर्ब ६५ करोड रूपैयाँ मात्रै कर्जा लगानी गरेको छ।
नाफा बढेसँगै यसको प्रतिसेयर आम्दानी आठ रूपैयाँबाट बढेको छ। यो १४ रूपैयाँ १८ पैसा पुगेको छ। यसको प्रतिसेयर नेटवर्थ १३७ रूपैयाँ छ।
यसले अहिले नाफा पछि १०.१३ प्रतिशत लाभांश क्षमता देखाएको छ। दुई वर्षयता भने यसले १० प्रतिशतभन्दा कम लाभांश दिएको छ। सोभन्दा अघि यसले १० देखि २० प्रतिशतसम्म लाभांश दिएको देखिन्छ।
बजारको यो साइडवेज (निश्चित अंकको उतारचढावमा) यस सेयर मूल्य प्रतिकित्ता १००० रूपैयाँसम्म पुग्छ। अहिले ७८५ रूपैयाँमा कारोबार भइरहेको यसको सेयर मूल्यले अहिले ५० दिने मुभिङ एभरेज रेखामा टेवा पाइरहेको छ।
पछिल्ला दुई दिनमा भने यसको सेयर मूल्यले हरामी बियरिस आकृति बनाएको छ। बिहीबार लामो हरियो मैनबत्ती बनेको छ भने शुक्रबार सानो रातो मैनबत्ती आकृति बनेको छ।
बिहीबारको मैनबत्तीको चित्रले दोस्रो दिनको मैनबत्तीको शरीरको आकारलाई पूरै ढाकेको छ। यो मूल्य घट्ने दरिलो संकेत होइन। आइतबार यसले सार्वजनिक गरेको वित्तीय विवरणको कस्तो प्रभाव पर्छ भन्ने कुराले नै मूल्यको आगामी प्रवृत्ति निर्धारण हुनेछ।
कामना सेवा विकास
कामनाको नाफा ३३ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ९७ लाख रूपैयाँ नाफा कमाएको यसले आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड ४१ लाख रूपैयाँ नाफा कमाएको हो।
यसअघि जोखिमका लागि राखिएको भन्दा कम प्रावधान राखिएकाले कारण यसको नाफा बढ्न सहयोग पुगेको देखिन्छ।
खुद ब्याज आम्दानी सामान्य बढेको छ। यसअघि यस्तो आम्दानी दुई अर्ब ३१ करोड रूपैयाँ थियो। अहिले दुई अर्ब ४१ करोड रूपैयाँ पुगेको छ। यसमा चार प्रतिशतले वृद्धि भएको हो।
यसले जोखिमका यसअघि ४१ करोड राखेकामा यस पटक मात्रै १३ करोड रूपैयाँ राखेको छ। निष्क्रिय कर्जा ३.७७ प्रतिशत छ। यसअघि यसको यस्तो कर्जा ३.४९ प्रतिशत थियो।
नाफा बढेसँगै कामनाको प्रतिसेयर आम्दानी १९ रूपैयाँबाट बढेर करिब २३ रूपैयाँ पुगेको छ। यसको प्रतिसेयर नेटवर्थ १७१ रूपैयाँ छ।
कामनाले् अहिले नाफापछि १५.१६ प्रतिशत लाभांश क्षमता देखाएको छ। अघिल्लो वर्ष १५.७८ प्रतिशतभन्दा लाभांश दिएको थियो। त्यसअघि ४ देखि १२ प्रतिशतसम्म लाभांश दिएको देखिन्छ।
बजारको यो साइडवेज (निश्चित अंकको उतारचढावमा) मा कामनाको सेयर मूल्य ४१६ देखि ५६० रूपैयाँसम्म पुग्छ।
५० दिने र २०० दिने मुभिङ एभरेज रेखाले अहिले पनि यसको मूल्य बुलिस प्रवृत्तिमै रहेको संकेत गरिरहेको छ।
पछिल्ला दुई दिनमा यसको सेयर मूल्यले लगातार हरियो मैनबत्ती आकृति बनाएको छ। शुक्रबार बनेको हरियो मैनबत्तीको आकृतिले बुधबार बनेको उच्च मूल्यलाई समेत पार गरेको छ।
बुधबारको यसको सुरू मूल्य नै सो दिनको उच्च मूल्य बनेको थियो। यसरी सो तहबाट घटेर यसको कारोबार बन्द हुँदा रातो मैनबत्ती बनेको थियो।
कामनाले नयाँ उचाइ बनाएकाले वृद्धिले निरन्तरता पाउने सम्भावना बाँकी नै छ। यद्यपि आइतबार सार्वजनिक गरेको वित्तीय विवरणको प्रभाव हेरेर निर्णय लिनु सही हुन्छ।