केही साताअघिसम्म लगानीकर्तामाझ एउटा कुरा निकै सुनिन्थ्यो — बजार अलिकति बढ्नासाथ साँवा उठाएर बाहिरिन्छु।
लामो समयसम्म बजार घट्दा धेरैले आफ्नो लगानी फिर्ता पाउनेबित्तिकै सेयर बिक्री गर्ने योजना बनाएका थिए।
पछिल्ला केही दिनको बजार गतिविधिले भने त्यो धारणा पूर्ण रूपमा सही नरहेको संकेत गरेको छ।
नेप्से परिसूचक पछिल्ला पाँच कारोबार दिनमा १४९ अंकले बढेको छ। त्यसमा पनि शुक्रबार ७९ अंक र सोमबार ४१ अंकको वृद्धि भएपछि बजारले छोटो अवधिमै उल्लेख्य उछाल लिएको छ।
यसबीच प्रधानमन्त्री बालेन शाहले सोमबार लगानीकर्ताहरूसँग भेटघाट गरे। त्यसअघि शुक्रबार उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग पनि भेटेर सेयर बजारका विषयमा छलफल गरेका थिए।
सरकारले बजारप्रति सकारात्मक चासो देखाएको सन्देशसँगै लगानीकर्ताको मनोबल बढेको देखिन्छ।
बजार बढिरहेको बेला लगानीकर्ताले वास्तवमै सेयर बिक्री गरिरहेका छन् कि थप किनिरहेका छन् भन्ने प्रश्नको उत्तर बजारका प्राविधिक सूचकले दिन्छन्।
यसका लागि सबभन्दा पहिले १४ दिने मनी फ्लो इन्डेक्स हेर्न सकिन्छ। यो सूचकले मूल्यसँगै कारोबार रकमलाई आधार मानेर बजारमा खरिद र बिक्रीको दबाब मापन गर्छ। यसबाट बजारमा नयाँ रकम प्रवेश भइरहेको छ वा बाहिरिइरहेको छ भन्ने संकेत पाइन्छ।
१४ दिने मनी फ्लो इन्डेक्स सात दिनअघि १७ विन्दुमा थियो। यसले बजारमा नयाँ रकमको प्रवेश हुन नसकिरहेको कमजोर अवस्थाको संकेत गरिरहेको थियो।
यो सोमबार भने यो सूचक बढेर ६३ विन्दु पुगेको छ। सात दिनको अवधिमा आएको यो सुधारले बजारमा नयाँ रकम प्रवेश बढेको र खरिदकर्ताको सक्रियता उल्लेख्य रूपमा बलियो बनेको देखाउँछ। बजार बढेपछि अधिकांश लगानीकर्ताले बिक्री मात्रै गरिरहेका भए यो सूचकमा यस्तो सुधार देखिने सम्भावना कम हुन्थ्यो।
त्यस्तै, १४ दिने आरएसआई सूचक पनि करिब १५ दिनअघि १ विन्दुसम्म झरेको थियो। सोमबार यो बढेर ६६.१६ विन्दु पुगेको छ।
आरएसआईको मापन ० देखि १०० सम्म हुन्छ। ३० भन्दा तल हुनुले बजारमा अत्यधिक बिक्री भएको संकेत गर्छ भने ३० देखि ७० बीचलाई सामान्य र सन्तुलित अवस्था मानिन्छ। ७० भन्दा माथि पुगेपछि बजारमा अत्यधिक खरिद भएको मानिन्छ।
अहिले आरएसआई ६६.१६ मा पुगेको छ। तर अझै ७० भन्दा तल नै रहेकाले बजारमा खरिदको बल बढेको देखिए पनि अत्यधिक खरिदको अवस्थामा पुगिसकेको संकेत गरेको छैन।
बजार बढिरहेका बेला लगानीकर्ताले सेयर बेचिरहेका छन् कि थप संकलन गरिरहेका छन् भन्ने अर्को संकेत एकुमुलेसन–डिस्ट्रिब्युसन सूचकले दिन्छ।
पछिल्लो एक महिनामा एकुमुलेसन पाँच करोड २२ लाख छ भने डिस्ट्रिब्युसन पाँच करोड ९ लाख छ। अर्थात् डिस्ट्रिब्युसनभन्दा एकुमुलेसन करिब १३ लाख बढी छ।
यसले बिक्रीभन्दा खरिद केही बढी भएको र लगानीकर्ताले बिस्तारै सेयर संकलन गरिरहेको संकेत गर्छ। पछिल्ला पाँच कारोबार दिनदेखि यो सूचक लगातार सकारात्मक रहनुले बजार बढ्दासमेत सेयर किनेर राख्ने प्रवृत्ति बलियो बनेको देखिन्छ।
यी तीनवटै सूचकलाई एकै ठाउँमा राखेर हेर्दा बजारमा मूल्य मात्र बढेकाले नभएर नयाँ रकमको प्रवेश, खरिदकर्ताको सक्रियता र लगानीकर्ताको विश्वास फर्किएको जस्तो देखिन्छ। केही लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री गरिरहेका भए पनि समग्र रूपमा बजारमा खरिद गर्ने पक्ष नै बलियो देखिएको छ।
अहिले देखिएका यी सूचकले बजार बढेपछि सबैले सेयर बेचिहाले भन्ने धारणा पुष्टि गर्दैन।
बरू बजार उकालो लाग्दासमेत धेरै लगानीकर्ताले सेयर बिक्री गरेर बाहिरिनुभन्दा थप संकलन गर्ने रणनीति अपनाइरहेको देखिएको छ।