नयाँ सरकार बनेयता सेयर लगानीकर्ताको करिब पाँच खर्ब रूपैयाँ बराबरको सम्पत्ति ह्रास भएको भन्दै आलोचित बनेपछि प्रधानमन्त्रीले व्यवसायी तथा लगानीकर्ता भेटे।
प्रधानमन्त्री बालेनले पछिल्ला केही दिनयता यो काममा सक्रियता बढाएका छन्।
उनको सक्रियतासँगै सेयर बजार फर्किएको छ।
तीन कारोबार दिनमै लगानीकर्ताको सम्पत्ति दुई खर्ब १४ अर्ब रूपैयाँले बढेको छ।
गत बिहीबारयताको कारोबारमा मात्र नेप्से परिसूचक १२८ अंकले बढेको छ। लगानीकर्ताको सम्पत्ति मानिने कुल बजार पुँजीकरण पनि ४४ खर्ब ७० लाख रूपैयाँबाट बढेर ४६ खर्ब ८५ लाख रूपैयाँ पुगेको छ।
यसरी बढेको बजारमा नाफा सुरक्षित गर्ने प्रवृत्ति पनि बढ्न थालेको छ।
यो ३ दिनकै अवधिमा कतिपय कम्पनीको सेयर मूल्य ५०० रूपैयाँसम्म बढेको छ। प्रतिशतको आधारमा पनि ८१ वटा कम्पनीको सेयर मूल्यमा सातदेखि २७ प्रतिशतसम्म मूल्य बढेको छ।
यो अवधिमा मूल्य सबैभन्दा धेरैले बढ्नेमा रिड्ज लाइन इनर्जी, श्री नगर एग्रिटेक, शिखर पावर डभलपमेन्ट, हिमस्टार उर्जा, रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, हिमालयन रि इन्स्योरेन्स, नेसनल हाइड्रो, सोलु हाइड्रो र रिडी हाइड्रोपावर छन्। यिनमा लगानीकर्तालाई १६ देखि २७ प्रतिशतसम्म नाफा भएको हो।
अहिले बैंकमा मुद्दति निक्षेपमै पैसा राख्दा पनि अधिकतम ६ प्रतिशत नपाइने अवस्थामा यो लाभ उच्च हो। यही कारण पनि लगानीकर्ताहरूले यो लाभ उठाइ हाल्न थाल्दा बजारको वृद्धि पनि केही सुस्तिएको हो।
अहिले नाफा बुकिङ चलेकाले मंगलबार भने बजारबाट केही पैसा बाहिरिएको छ।
मंगलबार एकुमुलेसन–डिस्ट्रिब्युसन सूचक १६ लाखले ऋणात्मक छ। यसले यो दिन केही पैसा बाहिरिएको देखाउँछ।
पछिल्लो एक महिनामा भने डिस्ट्रिब्युसनभन्दा एकुमुलेसन करिब ११ लाखले बढी देखिएको छ। यसले अझै बिक्रीभन्दा खरिद केही बढी भएको र लगानीकर्ताले सेयर संकलन गरिरहेको संकेत गर्छ।
यसअघिका पछिल्ला पाँच कारोबार दिनदेखि यो सूचक लगातार सकारात्मक थियो।
त्यस्तै, १४ दिने मनी फ्लो इन्डेक्स सोमबार ६३ विन्दु पुगेकामा यो ५३ मा आएको छ। तर अझै पनि किनबेच प्रवृत्ति सन्तुलिन नै देखिएको छ।
यसले बजारमा नयाँ रकमको प्रवेश सुधारकै अवस्थामा रहेको संकेत गर्छ।
यो सूचकले मूल्यसँगै कारोबार रकमलाई आधार मानेर बजारमा खरिद र बिक्रीको दबाब मापन गर्छ। यसबाट बजारमा नयाँ रकम प्रवेश भइरहेको छ वा बाहिरिइरहेको छ भन्ने संकेत पाइन्छ।
शुक्रबारयताको कारोबारमा नेप्सेमा करिब करिब डेलिबरेसन बियरिस आकृति बनेको छ। शुक्रबार र सोमबार मूल्य उच्चले बढेर हरियो मैनबत्ती आकृति बनेकोमा मंगलबार भने लामो धागो भएको दोजी आकृति बनेको छ।
यसले बुलिस प्रवृत्ति क्षिण हुन लागेको जस्तो संकेत गरिरहेको छ।
तर यो संकेत दरिलो होइन। बुधबार पनि बजार घटेर रातो मैनबत्ती बनेमा केही दिन बजार घट्न सक्छ। मैनबत्ती चित्र विश्लेषण बजारको अल्पकाली प्रवृत्ति विश्लेषण गर्न प्रयोग गरिन्छ।
दीर्घकालिन प्रवृत्ति विश्लेषणमा प्रयोग गरिने ५० दिने र २०० दिने मुभिङ एभरेज रेखा अहिले पनि जोडिएरै समानान्तर रूपमा अघि बढिरहको छ।
५० दिने मुभिङ एभरेज रेखा क्रसओधर भएर माथि लागेमा बजारमा बुलिस प्रवृत्ति कायम रहन सक्छ। २०० दिने रेखा क्रसओभर ५० दिनेभन्दा माथि लागेमा बियरिस प्रवृत्तिमा जान सक्छ।
| क्र.सं. |
कम्पनी |
बिहीबारको मूल्य (रु.) |
मंगलबारको मूल्य (रु.) |
वृद्धि (%) |
वृद्धि (रु.) |
| १ |
रिड्ज लाइन इनर्जी |
७१३.०० |
९०५.०० |
२६.९३ |
१९२.०० |
| २ |
श्रीनगर एग्रिटेक |
८३८.०० |
१,०३८.९० |
२३.९७ |
२००.९० |
| ३ |
शिखर पावर डेभलपमेन्ट |
५५८.९० |
६८५.०० |
२२.५६ |
१२६.१० |
| ४ |
हिमस्टार ऊर्जा |
६४८.५० |
७७४.९० |
१९.४९ |
१२६.४० |
| ५ |
रिलायन्स स्पिनिङ मिल्स |
२,९७०.०० |
३,५४५.०० |
१९.३६ |
५७५.०० |
| ६ |
साल्पा विकास बैंक |
८३५.०० |
१,०१४.०० |
१७.६५ |
१७९.०० |
| ७ |
हिमालयन रिइन्स्योरेन्स |
५५३.०० |
६४५.०० |
१६.६४ |
९२.०० |
| ८ |
नेशनल हाइड्रोपावर |
२४३.०० |
२८२.९० |
१६.४२ |
३९.९० |
| ९ |
सोलु हाइड्रोपावर |
५०९.०० |
५९२.०० |
१६.३१ |
८३.०० |
| १० |
रिडी हाइड्रोपावर |
३२६.०० |
३७८.९० |
१६.२३ |
५२.९० |