नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३-८४ को बजेट वक्तव्य तथा बोर्डको पुँजी बजार नीतिमा उल्लेख गरिएका सुधार कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन प्राथमिक र दोस्रो बजार सुधारका लागि दुई छुट्टाछुट्टै उच्चस्तरीय समिति गठन गरेको छ।
बोर्डले दोस्रो बजारमा मार्जिन लेण्डिङ, शर्ट सेल लगायतका नयाँ उपकरण तथा सेवा सञ्चालनको तयारीका लागि सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरेको छ।
समितिमा बोर्डका तीन जना प्रतिनिधिका साथै नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका एक–एक जना प्रतिनिधि सदस्य रहेका छन्।
उक्त समितिले मार्जिन लेण्डिङ, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो (सिक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ) तथा शर्ट सेलिङ कार्यान्वयनका लागि आवश्यक कानुनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत व्यवस्थाबारे सुझाव दिनेछ।
साथै यी सेवाको चरणबद्ध कार्यान्वयनका लागि आवश्यक तयारी गर्ने, दोस्रो बजार सुधार योजनासम्बन्धी काममा समन्वय तथा सहजीकरण गर्ने र आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।
बोर्डले दोस्रो बजार सुधार योजनाअन्तर्गत पहिलो चरणमा मार्जिन लेण्डिङ, दोस्रो चरणमा इन्ट्राडे कारोबार, तेस्रो चरणमा धितोपत्र सापटी तथा उधारो र चौथो चरणमा आवरणयुक्त (कभर्ड) शर्ट सेलिङ लागू गर्ने नीति लिएको छ।
यसअन्तर्गत गठित समितिले मार्जिन लेण्डिङ सम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल सुरू गरिसकेको बोर्डले जनाएको छ।
यसैगरी बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउन नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा 'प्राथमिक बजार सुधार सहजीकरण कार्यदल' पनि गठन गरेको छ।
सात सदस्यीय उक्त कार्यदलमा बोर्डका तीन जना कर्मचारी, नेप्सेका एक जना प्रतिनिधि, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका संयोजक सदस्य रहेका छन्।
आवश्यकताअनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान), विद्युत नियमन आयोग (इआरसी), स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबिएएन), सिडिएससी तथा अन्य सरोकारवाला संस्था र विज्ञलाई पनि कार्यदलमा आमन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यदलको पहिलो बैठक साउन १९ गते बसेर प्राथमिक बजार सुधारका विषयमा प्रारम्भिक छलफल गरेको बोर्डले जनाएको छ।
कार्यदलले सार्वजनिक निष्कासन (आइपिओ), बुक बिल्डिङ प्रणाली, मर्चेन्ट बैंकरको भूमिका, आइपिओ बाँडफाँट, डिजिटल आइपिओ, आइपिओका लागि योग्यता, मूल्य निर्धारण, संस्थागत लगानीकर्ता, एङ्कर इन्भेष्टर, ड्यु डिलिजेन्स तथा निष्कासनपछिको अनुगमन (पोस्ट इश्यु मनिटरिङ) लगायतका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिनेछ।