हायर पर्चेज कर्जा अब सवारी साधनमा मात्र सीमित नहुने भएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई हायर पर्चेज कर्जा मात्र प्रदान गर्ने कम्पनीहरूले वासिङ मेसिन, रेफ्रिजिरेटर, भ्याकुम क्लिनर, डिस वासरलगायत विद्युतीय उपकरण तथा विभिन्न मेशिनरी र उपकरण खरिदका लागि समेत किस्ताबन्दीमा कर्जा दिन पाउने भएका छन्।
यस्ता कम्पनीले कर्जाको ब्याजदर निर्धारण गर्दा पुँजी लागतलाई आधार बनाउनुपर्नेछ।
स्वपुँजीको लागत र ऋणबाट प्राप्त कोषको भारित लागतलाई आधार मानी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ।
कम्पनीले प्रकाशित गरेको ब्याजदरमा अधिकतम २ प्रतिशतसम्म मात्र थपघट गरी ग्राहकलाई कर्जा दिन पाउनेछन्।
ब्याजदरसम्बन्धी सूचना प्रकाशन गरेपछि त्यसको जानकारी तीन दिनभित्र राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागलाई दिनुपर्नेछ।
राष्ट्र बैंकले 'हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०' संशोधन गर्दै हायर पर्चेज कर्जाको दायरा विस्तार गरेको हो।
संशोधित व्यवस्थाअनुसार हायर पर्चेज कर्जा भन्नाले कृषि, औद्योगिक, व्यावसायिक वा घरायसी प्रयोजनका लागि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेशिनरी, औजार, वासिङ मेसिन, रेफ्रिजिरेटर, भ्याकुम क्लिनर, डिस वासरलगायत विद्युतीय उपकरण तथा अन्य उपकरण खरिद गर्न किस्ताबन्दीमा भुक्तानी गर्ने गरी प्रदान गरिएको कर्जा वा सापटीलाई जनाउनेछ।
सम्पूर्ण किस्ता भुक्तानी भएपछि मात्र सम्बन्धित वस्तुको स्वामित्व हस्तान्तरण हुने व्यवस्था रहनेछ।
हायर पर्चेज कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट स्वीकृति पाएका कम्पनीले प्रत्येक १० आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भएपछि साउन मसान्तभित्र अनुमतिपत्र नवीकरण गरिसक्नु पर्नेछ।
सवारी साधन खरिदका लागि कर्जा प्रवाह गर्दा ऋण–मूल्य अनुपात भने राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको निर्देशनअनुसार नै कायम गर्नुपर्नेछ।
कम्पनीले कर्जा स्वीकृत गर्दा सेवा शुल्कबापत स्वीकृत कर्जाको अधिकतम १ प्रतिशतसम्म मात्र ग्राहकबाट लिन पाउनेछन्।
तर, ग्राहकको आवश्यकता पूरा गर्न अन्य संस्था वा निकायमार्फत सेवा लिँदा लागेको वास्तविक लागतभन्दा बढी नहुने गरी थप सेवा शुल्क लिन भने बाधा नपर्ने व्यवस्था गरिएको छ।
हायर पर्चेज कम्पनीहरूले आफूले प्रवाह गरेको कर्जाको नियमित विवरण पनि राष्ट्र बैंकमा बुझाउनु पर्नेछ।
कम्पनीले कर्जा उपभोग भएको विवरण, कर्जा प्रवाह गर्ने संस्था र ब्याजदर, कुल कर्जा प्रवाह तथा ऋणीको संख्या, कर्जा नोक्सानी व्यवस्था, ठूला ३० ऋणीको संख्या र रकम, बहु–ब्राण्डमा भएको लगानीको रकम र संख्या, वासलात, नाफा–नोक्सान हिसाब तथा प्रमुख वित्तीय परिसूचकसम्बन्धी विवरण सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ।
विशेष परिस्थितिमा नियमनकारी निकायबाट निर्देशन जारी भएको अवस्थामा ऋणीले उचित कारणसहित लिखित अनुरोध गरेमा कम्पनीको सञ्चालक समितिको निर्णयबाट निश्चित अवधिका लागि कर्जा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ।
त्यस्तै, हायर पर्चेज कम्पनीले एकभन्दा बढी कम्पनी वा बहु–ब्राण्डबाट उत्पादित सवारी साधन, मेशिनरी, औजार तथा उपकरणमा अनिवार्य रूपमा लगानी गर्नुपर्नेछ।
यस्तो लगानीसम्बन्धी विवरण कम्पनीले आफ्नो वेबसाइटमार्फत समेत सार्वजनिक गर्नुपर्नेछ।