आजबाट सेयरको अनलाइन कारोबार प्रणाली (टिएमएस) मा आफ्टर मार्केट अर्डर सुविधा उपलब्ध भएको छ।
यो सुविधाबाट लगानीकर्ताले नियमित कारोबार समयबाहेक अन्य समयमा पनि सेयर खरिद वा बिक्रीको अर्डर प्रविष्ट गर्न सक्नेछन्।
नियमित कारोबार समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रहेकाले उक्त समयमा व्यस्त हुने लगानीकर्तालाई यस्तो सुविधा उपयोगी हुने देखिएको छ।
यस्तो अर्डर कारोबार प्रणालीमा हालेपछि सुरक्षित रहने र बजारको कारोबार सत्र सुरु भएपछि तोकिएको प्रक्रियाअनुसार नेप्सेको कारोबार प्रणालीमा पठाइने व्यवस्था गरिएको छ।
यसमार्फत अर्डर राख्दा लगानीकर्ताले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशतसम्म घटबढ हुने गरी अर्डर राख्न सक्नेछन्।
तर, बजार खुलेपछि हुने प्री–ओपन सेसनमा अघिल्लो दिनको अन्तिम मूल्यको ३ प्रतिशत मात्रै घटबढ हुने अर्डर मात्र स्वतः एक्सचेन्जमा पठाइनेछ।
सो सीमाभन्दा बाहिरको अर्डर भने तोकिएको मूल्य नआउँदासम्म यथावत रहनेछ।
त्यसपछि नियमित कारोबार सुरू भएपछि यस्तो अर्डरले अर्को चरणमा काम गर्छ।
पछिल्लो कारोबार मूल्यको ३ प्रतिशतको सीमाभित्र पुगेपछि प्रणालीले उक्त अर्डर स्वतः नेप्सेको प्रणालीमा पठाउनेछ।
त्यसपछि सामान्य कारोबारको अर्डरसरह म्याच हुने प्रक्रियामा जानेछ।
यस्तो अर्डर केवल लिमिट अर्डरमा राख्न सकिनेछ। अर्थात् मूल्य तोकेर राख्न सकिन्छ। तर, मार्केट अर्डर उपलब्ध हुने छैन। अर्थात् बजारमा जुन मूल्य चल्छ त्यसैमा कारोबार होस भनेर मूल्य नतोकि राख्न पाइदैन्।
यस्तो अर्डर एक कारोबार दिन (डे भ्यालिडिटी) लाई मात्र लागु हुने गरेर राख्न पाइनेछ।
अहिले सेयर किनबेच अर्डर राख्दा आफुले चाहेको मूल्य नआउँदासम्म केही दिनको लागि समेय तोकेरै समेत राख्न सकिन्छ।
अर्डर राख्दा खरिदकर्ताको ब्रोकरको खातामा किन्न रकम कोल्याटरल पर्याप्त राखिएको छ कि छैन र बिक्रीको डिम्याट खातामा आवश्यक सेयर उपलब्ध छ कि छैन भन्ने पनि प्रणालीले जाँच गर्नेछ।
पर्याप्त कोल्याटरल वा सेयर नभएमा अर्डर अस्वीकृत हुनेछ।
अर्डर राखिएपछि यसको अवस्था हेर्न टिएमएस प्रणालीको अर्डर म्यानेजमेन्टभित्र रहेको आफ्टर मार्केट्स अर्डर जान सकिन्छ।
अर्डर नेप्सेको एक्सचेन्जमा पठाइनुअघि पेन्डिङ अवस्थामा रहेको भए मूल्य वा कित्ता संशोधन गर्न तथा अर्डर रद्द गर्न सकिनेछ।
तर, यस्तो अर्डर एकपटक भएर नेप्सेको एक्सचेन्जको प्रणालीमा पठाइसकेपछि भने त्यसलाई संशोधन वा रद्द गर्न सकिने छैन।
रद्द गर्न टिएमएसमै रहेको अर्डर बुकमा गएर अन्य सामान्य अर्डरसरह गर्न सकिन्छ।
दिनभरको नियमित कारोबार समय सकिँदासम्म यस्तो अर्डर अनुसार कारोबार नभएमा स्वतः रद्द हुनेछ।
त्यसैले बजार खुलेपछि आफ्नो अर्डरको अन्तिम अवस्था अर्डर बुक बाट हेर्नुपर्नेछ।