नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार नियमित रूपमा गरिँदै आएको कामकारबाहीलाई लिएर मुद्दा दायर भएको जनाएको हो।
बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनाका कारण बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नआएको स्पष्ट पारेको छ।
बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहेको भन्दै संस्थाको सबलता, ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखेर सम्पूर्ण सेवा तथा गतिविधि नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन हुने बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल तथा वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगका लागि पनि बैंकले आग्रह गरेको छ।
बैंकले आफ्ना सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन र आधिकारिक सूचनालाई मात्र आधार बनाउन ग्राहक तथा सरोकारवालालाई अनुरोध गरेको छ।
बैंकले निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा अन्य सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरेको छ।