गरिमा विकास बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालयको बुधबार विधिवत रूपमा समुद्घाटन कार्य सम्पन्न भएको छ।
विकास बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच समुद्घाटन गरे।
उक्त कार्यालयको समुद्घाटनसँगै हाल लाजिम्पाट, काठमाडौंमा रहेको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा स्थानान्तरण गरिएको छ।
२०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार प्रारम्भ गरेको विकास बैंकले २०६७ साल वैशाख १ गते कास्कीको महेन्द्रपुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको र राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते आफ्नो केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण गरेको थियो ।
नवनिर्मित केन्द्रीय कार्यालयको समुद्घाटनको कार्यक्रमको अवसरमा कार्यालय परिसरमा निर्मित मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठा सहित धार्मिक पूजाआजा समेत आयोजना गरिएको थियो।
समुद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा.विश्वनाथ पौडेलसँगै, धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल प्रसाद भट्ट, नेपाल राष्ट्र बैंक लगायत अन्य नियमनकारी निकायका पदाधिकारीह, गरिमा विकास बैंकका सञ्चालक समितिका सदस्य, बैंकका पूर्व पदाधिकारी, उच्च व्यवस्थापन पदाधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदस्थ पदाधिकारी, बैंकका सेयरधनी, कर्मचारी, ग्राहकहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय सहित ५१ एटिएम मेसिन एवं नविनतम बैंकिङ सुविधा सहित करिब १० लाख ग्राहकहरूलाई सरल सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।