खराब कर्जा, सुस्त कर्जा लगानीका कारण लामो समय समस्यामा रहेको बैंक तथा वित्तीय क्षेत्रमा सुधार देखिँदै गएको छ।
खराब कर्जामा केही सुधार हुँदै गइरहेकै कारण यी संस्थाहरूले यसअघि नियमकीय प्रावधानमा राखेको रकम फिर्ता ल्याइरहेको छन्। यसले नाफामा गुणात्मक वृद्धि देखिएको छ।
तैपनि अझै धेरै वित्त कम्पनीहरू लाभांश दिन सक्ने गरी सुधार भइसकेका छैनन्।
अहिले वित्त कम्पनीमध्ये दुइटाले मात्रै लाभांश क्षमता देखाएका छन्— आइसिएफसी फाइनान्स र मन्जुश्री फाइनान्स।
आइसिएफसी फाइनान्स
आइसिएफसीको सेयर २०६४ कात्तिकबाट कारोबारमा आएको हो। पछिल्लो एक वर्षमा यसको उच्च मूल्य ७१५ रूपैयाँ र न्यून मूल्य ५८० रूपैयाँ छ।
पछिल्लो समय यसको सेयर मूल्य एक वर्षयताकै न्यून आसपास छ। गएको शुक्रबार एक रूपैयाँ घटेर प्रतिकित्ता ५९६ रूपैयाँमा कारोबार भयो।
यसले केही समयअघि मात्रै वित्तीय विवरण प्रकाशित गरेको हो। गत आर्थिक वर्ष २०८२–८३ मा यसको नाफा २०.७ प्रतिशत घटेको छ। यसअघि ३३ करोड रूपैयाँ नाफा गरेको थियो। यसपालि २६ करोड रूपैयाँ छ।
नोक्सानी व्यवस्थामा दुई करोड ३२ लाख रूपैयाँ रकम प्रावधान राखेकाले यसको नाफा घटेको हो। यसको खुद ब्याज आम्दानी सामान्य, ५९ करोडबाट बढेर ६४ करोड रूपैयाँ पुगेको छ। तर शुल्क, अन्य आम्दानी घटेको छ।
यसको निष्क्रिय कर्जा तुलनात्मक रूपमा निकै न्यून छ। यस्तो कर्जा १.८४ प्रतिशतबाट घटेर १.५५ प्रतिशत भएको छ।
यसको प्रतिसेयर आम्दानी २८ रूपैयाँबाट घटेर २२ रूपैयाँ भएको छ। यसअघि लाभांश दिएर बाँकी रहेको तीन करोडसहित यस पटक कुल १४ करोड रूपैयाँ वितरण योग्य रकम देखाएको छ।
यसबाट करिब ११.९८ प्रतिशत लाभांश दिन सक्ने अवस्था छ।
यसअघि यसले १५.७८ प्रतिशत लाभांश दिएको थियो।
पाँच वर्षयता यसले वार्षिक औसत १०.३० प्रतिशत लाभांश दिएको छ। मूल्य बढ्ने प्रयासमा देखिँदै गर्दा शुक्रबार दुवैतर्फ लामो धागो भएको कालो मैनबत्ती आकृति बनेको छ। यसले यसको बजार बढ्छ र घट्छ भन्ने दबाब बराबरी जस्तो रहेको संकेत गर्छ।
मन्जुश्री फाइनान्स
मन्जुश्री यस पटक सबैभन्दा धेरै लाभांश दिने क्षमता देखिएको वित्त कम्पनी हो।
गत वर्ष लाभांश बाडेर बाँकी रहेको करिब १५ करोड र यस पटकको २६ करोडसहित करिब ४२ करोड रूपैयाँ वितरण योग्य नाफा रकम छ। एक अर्ब ३५ करोड रूपैयाँ चुक्ता पुँजी रहेको यसको ३१.११ प्रतिशत लाभांश क्षमता देखिएको छ।
मन्जुश्रीले विगत पाँच वर्षमा वार्षिक औसत १९.३७ प्रतिशत लाभांश दिएको छ।
मन्जुश्रीको गत आर्थिक वर्ष २०८२–८३ मा नाफा १८ प्रतिशत बढेको छ। यसअघि ३१ करोड ८९ लाख रूपैयाँ नाफा कमाएको यसले गत आर्थिक वर्ष ३७ करोड ४८ लाख रूपैयाँ कमाएको हो।
यसको खुद ब्याज आम्दानी ४.५४ प्रतिशत बढेर ८८ करोडबाट ९२ करोड रूपैयाँ पुगेको छ। शुल्क, कमिसनबाट हुने र अन्य आम्दानी पनि सामान्य बढेको छ।
नोक्सान व्यवस्थामा यसअघिभन्दा कम रकम राखेपछि पनि नाफा बढ्न सहयोग पुगेको हो।
यसअघि नोक्सान व्यवस्थामा यसले ९ करोड रूपैयाँ राखेको थियो। यसपालि ६ करोड रूपैयाँ राखेको छ।
मन्जुश्रीको गैरसञ्चालन खर्च र अन्य खर्च पनि घटेको छ। यसले पनि नाफा वृद्धिमा सहयोग पुगेको हो।
यसको निष्क्रिय कर्जा ३.१२ प्रतिशतबाट बढेर ३.४३ प्रतिशत पुगेको छ। यो सुविधाजनक अवस्थामै छ।
प्रतिसेयर आम्दानी २३.१४ रूपैयाँबाट बढेर २७.८५ रूपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १९३ रूपैयाँ छ।
२०६९ कात्तिकबाट सेयर कारोबारमा आएको मन्जुश्रीको सेयरले एक वर्षमा ९३८ रूपैयाँको उच्च मूल्य र ५४५ रूपैयाँको न्यून मूल्य बनाएको छ।
शुक्रबार ७४६ रूपैयाँमा सेयर कारोबार भएको छ। शुक्रबार यसको सेयर मूल्यले इन्भर्टेड ह्यामर आकृति बनाएको छ। माथिल्लो धागो मूल शरीरभन्दा दोब्बर लामो हुने यस आकृतिले मूल्य बढ्न सक्ने संकेत गर्छ।
तर यस्तो संकेतको प्रभाव मध्यम वा कम हुन्छ। शुक्रबारको शुरू मूल्य (७४० रूपैयाँ) भन्दा माथिबाट कारोबार सुरू भएर वृद्धि कायमै रहे केही दिन मूल्य बढ्ने अपेक्षा गर्न सकिन्छ।