अबदेखि साउन १ गते मौद्रिक नीति पेश हुनुपर्ने व्यवस्था गर्न अर्थ समितिले सहमति जनाएको छ।
संघीय संसदअन्तर्गतको अर्थ समितिको सोमबार (आज) बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि दफावार छलफलका क्रममा अर्थ समितिले यस्तो निर्णय गरेको हो।
हाल ऐनमा राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको भएपनि समय सीमा तोकिएको छैन।
सरकारले असारबाट सारेर जेठ १५ गते बजेट पेश गर्न थालेसँगै मौद्रिक नीति सार्वजनिक गर्ने समयावधि पनि तोक्नुपर्नेमा आवाज उठ्दै आएको थियो।
यसअघि असार १५ सम्ममा मौद्रिक नीति सार्वजनिक गर्ने उद्देश्य राष्ट्र बैंकले दिॅंदै आएको भएपनि सफल हुन सकेको छैन्।
अहिले समयसीमा ऐनमै तोक्न लागिएको हो।
अर्थ समितिको दफावार छलफलबाट पारित भएको यो व्यवस्था अनुसार मस्यौदा पुनः संघीय संसदमा पुग्नेछ।
संघीय संसदबाट स्वीकृत भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै यो व्यवस्था ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।