नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
परिसंघले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
बुधबार भोटेकोशी नदीमा अकस्मात् आएको बाढीबाट भएको अकल्पनीय क्षतिले आफूहरू मर्माहत र स्तब्ध भएको सिबिफिनले जनाएको छ।
बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत सबैको शीघ्र खोजी तथा उद्धार हुने अपेक्षा पनि परिसंघले गरेको छ।
उद्धार र राहत कार्यमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिप्रति उच्च सम्मान व्यक्त गर्दै सिबिफिनले प्रभावित क्षेत्रमा मानवीय उद्धार, राहत तथा बैंकिङ पहुँचलाई प्राथमिकतामा राखिएको जनाएको छ।
बाढीबाट बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधारसँगै मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा ठूलो क्षति पुगेको परिसंघले जनाएको छ।
प्रभावित क्षेत्रका जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने सिबिफिनको भनाइ छ।
प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक व्यवस्था गरिरहेको परिसंघले जनाएको छ।
सिबिफिनले वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्यांकन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना, किस्ता तथा ब्याज भुक्तानीमा सहजीकरण र व्यवसाय पुनःसञ्चालन तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन आफ्ना सदस्य संस्थासँग समन्वय गर्ने जनाएको छ।
यसका लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समेत समन्वय गरी आवश्यक नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्न परिसंघ प्रयासरत रहने बताइएको छ।
राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्दै सिबिफिनले उद्धार, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानका लागि सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग हातेमालो गरी आवश्यक सहयोग गर्न सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार र प्रतिबद्ध रहेको जनाएको छ।
प्रभावित परिवार, व्यवसाय तथा समुदाय यथाशीघ्र सामान्य अवस्थामा फर्कन सकून् भन्ने कामना गर्दै परिसंघले संघीय, प्रदेश तथा स्थानीय सरकारले चालेका हरेक कदममा साथ दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई एकताबद्ध भएर परिचालित हुन अपिल गरेको छ।