रसुवा लगायतका जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति नेपाल बैंकर्स संघले गहिरो दुःख व्यक्त गरेको छ।
संघले विपदमा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
साथै कठिन घडीमा धैर्यताका साथ अघि बढ्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहेको जानकारी प्राप्त भएको संघले जनाएको छ।
केही कर्मचारीसँग भने हालसम्म सम्पर्क स्थापित हुन नसकेको बताइएको छ।
बाढी तथा डुबानका कारण प्रभावित जिल्लाका केही बैंक शाखा पनि प्रभावित भएका छन्।
विद्युत, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण नियमित बैंकिङ सेवा सञ्चालनमा समेत चुनौती देखिएको संघले जनाएको छ।
यद्यपि, बैंकहरूले उपलब्ध स्रोतसाधन तथा वैकल्पिक व्यवस्थाको अधिकतम प्रयोग गर्दै बैंकिङ सेवा निरन्तरता कायम राख्न र प्रभावित सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको संघले जनाएको छ।
नेपाल बैंकर्स संघले विपद्को समयमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको जनाएको छ।
नेपालको बैंकिङ क्षेत्र सरकारको राहत, उद्धार तथा पुनर्स्थापना प्रयासमा साथ दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको संघले जनाएको छ।
प्रभावित कर्मचारी, उनीहरूका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग पुर्याउन बैंकिङ क्षेत्रले आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता पनि जनाएको छ।
संघले सरकारसँगको सहकार्यमा राहत, उद्धार, बैंकिङ सेवा निरन्तरता तथा पुनर्स्थापनाका लागि सदस्य बैंकहरूसँग समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको जनाएको छ।