प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रूपैयाँ आर्थिक सहयोग तथा ७ लाख रूपैयाँ बराबरको विभिन्न खाद्यान्न सामग्रीहरू सहयोग प्रदान गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले बैंकले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।
प्राइम कमर्सियल बैंकले देशमा आएका प्रकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायहरूलाई आवश्यक सहयोग गर्दे आएको छ।
यसअघि पनि बैंकले विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगहरू प्रदान गर्दै आएको छ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायहरूको राहत र पुनर्स्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत बैंकले व्यक्त गरेको छ।