रसुवाको भोटेकोशी–त्रिशूली बाढीले जलविद्युत आयोजना, सडक, पुल, आवासहरूमा ठूलो क्षति पुग्यो। क्षतिको विवरण अझै आइसकेको छैन।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी सञ्चारमाध्यम रोयटर्समा बाढीपछिको पुनर्निर्माणमा पाँच अर्ब डलर (७ खर्ब ६० अर्ब रूपैयाँ) लाग्न सक्ने बताएका छन्।
पुनर्निर्माणमा ठूलो स्रोत र साधन खर्च हुने भएसँगै सेयर बजारमा सूचीकृत निर्माण क्षेत्रका कम्पनीहरूको कारोबार उच्च बढेको छ।
भदौ ९ गते मंगलबार बजारमा कुल चार अर्ब ८ करोड रूपैयाँको सेयर कारोबार भएको थियो। त्यसमध्ये सूचीकृत पाँच सिमेन्ट उद्योग र दुई रङ उद्योगको १० करोड ८५ लाख रूपैयाँको सेयर कारोबार भएको थियो। यो भनेको कुल कारोबार रकमको २.६५ प्रतिशत हो।
यी कम्पनी शिवम सिमेन्ट्स, सोनापुर मिनिरल्स एन्ड आयल, पाल्पा सिमेन्ट्स, घोराही सिमेन्ट्स, सर्वोत्तम सिमेन्ट्स, एभरेस्ट कलर र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज थिए।
भदौ १० गते बाढी आयो।
भदौ ११ गते बिहीबार यी निर्माण कम्पनीको सेयर कारोबार रकम चार गुणा बढेर ४४ करोड रूपैयाँ पुग्यो। त्यस दिन बजारमा कुल तीन अर्ब ७४ करोड रूपैयाँको कारोबार भएको थियो। कुल कारोबारमा निर्माण क्षेत्रका कम्पनीको हिस्सा ११.७४ प्रतिशत पुग्यो।
सर्वोत्तम सिमेन्ट र शिवम सिमेन्टको कारोबार गुणात्मक वृद्धि भएको छ। शिवमको कारोबार चार गुणाभन्दा धेरै वृद्धि भएर २१ करोड ७५ लाख रूपैयाँ पुगेको छ। मंगलबार पाँच करोड रूपैयाँ बराबर सेयर किनबेच भएको थियो।
सर्वोत्तम सिमेन्टको कारोबार २८ लाख रूपैयाँबाट १३ गुणा बढेर तीन करोड ७४ लाख रूपैयाँ पुगेको छ।


कम्पनीहरूको सेयर मूल्य पनि १.६६ प्रतिशतदेखि ३२ प्रतिशतसम्म बढेको छ।
सर्वोत्तम पेन्ट्सको मूल्य सबैभन्दा धेरै ३२ प्रतिशत बढेको छ। यसको सेयर मूल्य प्रतिकित्ता १०५४ रूपैयाँबाट बढेर १३९४ रूपैयाँ पुगेको छ।
एभरेस्ट कलरको भने कारोबार र सेयर मूल्य दुवै घटेको छ। यसको कारोबार रकम १४ प्रतिशत घटेर एक करोड ९६ लाख रूपैयाँ भएको हो। सेयर मूल्य ०.४२ प्रतिशत घटेर प्रतिकित्ता १४०० रूपैयाँमा कारोबार भइरहेको छ।
यी सात कम्पनीमध्ये गत आर्थिक वर्ष २०८२–८३ मा शिवम सिमेन्टको आम्दानी र नाफा दुवै केही घटेको छ। घोराही सिमेन्ट्सको आम्दानी केही घटेको छ भने ३० करोड रूपैयाँ नोक्सानमा छ।
मुलुकमा देखिएको आर्थिक मन्दी, घरजग्गाको कारोबारमा आएको शिथिलता, सरकारको पूर्वाधार निर्माणमा न्यून खर्च लगायतका कारण यस्ता केही कम्पनीको आम्दानी घटेको उल्लेख गरेका छन्।
केही कम्पनीले पूर्ण क्षमतामा उत्पादन गर्न सकेका देखिँदैनन्। रेटिङ कम्पनी इन्फोमेरिक्स नेपालले शिवम सिमेन्टले विगत पाँच वर्षमा क्षमताको सरदर ८७ प्रतिशत क्लिंकर र ४३ प्रतिशत मात्रै सिमेन्ट उत्पादन गरिरहेको उल्लेख गरेको छ।
२०८२ फागुनमा सार्वजनिक भएको यो रिपोर्टले २०८१ असारसम्मको तथ्यांक प्रयोग गरेको थियो।
त्यसैले, बाढीपछिको पुनर्निर्माणका कारण यी क्षेत्रका उद्योगहरूको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ।
यी क्षेत्रका कम्पनीहरूमा लगानी गर्दा केही कुरामा ध्यान दिन भने जरूरी छ।
केही कम्पनीमा विद्युत महसुल विवादले थप वित्तीय भार आइपर्ने अवस्था छ। उदाहरणकै रूपमा, यो विवाद सम्बन्धमा सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन अवस्थामै रहेको सोनापुर मिनिरल्सले आफ्नो वित्तीय विवरणमा उल्लेख गरेको छ। अन्य सिमेन्ट कम्पनीमा पनि यो विवाद कायमै छ।
त्यसैले, लगानीकर्ताहरूले कम्पनी अनुसार स्वअध्ययन र विश्लेषण गरेर लगानी रणनीति बनाउनु सही हुने सेयर बजारविज्ञहरू बताउँछन्।