नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी)को दोस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पनि सभाले स्वीकृत गरेको छ।
सभाले सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकलाई पनि अनुमोदन गरेको छ।
एनडिपीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर दिने भएको छ। सभाले बोनस सेयरसम्बन्धी प्रस्ताव पारित गरेको हो।
बोनस सेयरमा लाग्ने करका लागि १५ लाख ५७ हजार ३४३ रूपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि पारित भएको छ।
कम्पनीको उद्देश्यसँग मिल्ने अन्य कम्पनी गाभ्ने वा किन्ने अधिकार सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ।
सभाले कम्पनीको प्रबन्धपत्रमा थप व्यवस्था गर्ने प्रस्ताव पनि पारित गरेको छ। अब एनडिपीले परिवर्तनीय डिबेञ्चर र प्राथमिकता प्राप्त सेयर जारी गर्न सक्नेछ।
विदेशी लगानीकर्तालाई लक्षित वित्तीय उपकरण पनि जारी गर्न सक्ने व्यवस्था गरिएको छ।
ग्रिन क्लाइमेट फन्ड र ब्लेन्डेड फाइनान्सजस्ता अन्तर्राष्ट्रिय कोषबाट सहयोग लिन सक्ने व्यवस्था पनि गरिएको छ।
एनडिपीले जारी पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि छुट्याउने व्यवस्था पनि गरेको छ।
भविष्यमा नियामक निकायले यी व्यवस्थामा सुधार गर्न निर्देशन दिएमा त्यसअनुसार संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिइएको छ।
एनडिपीले आर्थिक वर्ष २०८२/८३ मा कर तिरेपछि ७ करोड ३३ लाख रूपैयाँ नाफा कमाएको थियो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३५ लाख रूपैयाँ पुगेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले एनडिपी स्थापना भएको केही समयपछि सरकारले वैकल्पिक वित्तीय वृत्त स्थापना गर्ने कार्यक्रम अघि बढाएको बताए।
स्वदेशी पुँजीबाट ठूला पूर्वाधार आयोजनामा लगानी जुटाउने उद्देश्यले कम्पनी स्थापना भएको उनले बताए।
लगानीमैत्री वातावरण निर्माण गर्ने र युवालाई स्वदेशमै लगानी तथा रोजगारीको अवसर दिने कम्पनीको लक्ष्य रहेको उनको भनाइ थियो।
'मुलुकभित्र र बाहिर छरिएर रहेको पुँजी संकलन गरी उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार र महत्वपूर्ण आयोजनामा लगानी गर्न सकेमा मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुन्छ,' उनले भने।
'कम्पनी नाफाका लागि मात्र स्थापना भएको होइन। लगानीको वातावरण सुधार्ने र देशभित्रै पुँजी परिचालन गर्ने लक्ष्य पनि छ,' उनले भने।
कम्पनीका सेयरधनी देशका सबै ७७ जिल्लामा पुगेकोमा अध्यक्ष ढकालले सन्तोष व्यक्त गरे।
एनडिपीले जलविद्युत, केबलकार, पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी विस्तार गर्दै जाने उनले बताए।