रसुवा भोटेकोशी र त्रिशूलीमा बुधबार १० गते आएको बाढीको कारण बीमा कम्पनीहरूमा करिब २६ अर्ब रूपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार इन्जिनियरिङ तथा ठेक्का बीमा अन्तर्गत २० अर्ब ५० करोड, सम्पत्ति बीमा २ अर्ब ३४ करोड, मोटर बीमा अन्तर्गत एक अर्ब ५५ करोड, परिवहन बीमा करिब ९० करोड, अन्य बीमा ५२ करोड ९२ लाख र चार करोड रूपैयाँ बराबरको स्वास्थ्य बीमा दाबी पर्ने अनुमान गरिएको हो।
सबैभन्दा धेरै दाबी द ओरियन्टल इन्स्योरेन्समा १३ अर्ब चार करोड रूपैयाँको पर्ने अनुमान गरिएको हो।
सबैभन्दा कम नेपाल माइक्रोइन्स्योरेन्समा ५ लाख बराबरको दाबी पर्ने अनुमान गरिएको हो।
रसुवाको भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण हालसम्म १५ वटाभन्दा निर्माण भएका र निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको विवरण आएको छ।
जलविद्युत आयोजनाको दुई किसिमले बीमा गरिएको हुन्छ। निर्माणाधीन आयोजनाको इन्जिनियरिङ बीमा गरिएको हुन्छ। यस अन्तर्गत शतप्रतिशत नै बीमा गरिएको हुन्छ। जति निर्माण सम्पन्न हुँदै गएको हुन्छ, त्यति नै बीमांक रकम बढ्ने भइरहन्छ।
तर सञ्चालनमा आइसकेका आयोजनाको बीमा सम्पत्ति बीमा अन्तर्गत गरिएको हुन्छ। बैंकको कर्जा बाँकी रहेका सञ्चालनमा रहेका आयोजनाहरूको कर्जा रकम बराबरकै बीमा भएको हुन्छ।
अन्यमा भने आयोजनाहरूले कति सम्पत्तिको बीमा गरेका छन्, त्यसै अनुसार दाबी भुक्तानी पाउने बीमा प्राधिकरणले बताउँदै आएको छ।
निर्जीवन बीमा कम्पनीहरूले यस्तो बीमाको भार सबै आफै राखेका हुँदैनन्। केही भार यहाँका पुनर्बीमा कम्पनीमा र केही बाह्य पुनर्बीमा कम्पनीमा सारेका हुन्छन्।
निर्माणाधीन आयोजनाको बीमा रकमको करिब ७० देखि ८० प्रतिशत पुनर्बीमा कम्पनीहरूमा भार सारिएको हुन्छ। सम्पत्ति बीमामा भने कतिपय कम्पनीले आफै ५० प्रतिशतसम्म भार लिएर बाँकी पुनर्बीमा कम्पनीमा सार्छन्।
यसरी सम्पत्ति बीमा अन्तर्गत पुनर्बीमा कम्पनीमा सारिने रकममध्ये ३० प्रतिशत रकम यहीँको पुनर्बीमा कम्पनीमा अनिवार्य सार्नैपर्ने व्यवस्था छ।
उदाहरणका लागि, यदि एक करोड रूपैयाँको सम्पत्ति बीमा गरिएको छ भने ५० लाख निर्जीवन कम्पनी आफैले तिर्ने गरेर भार लिएको हुन सक्छ। बाँकी ५० लाख रकम पुनर्बीमा गरिएको हुन सक्छ। यो बाँकी ५० लाख रकमको ३० प्रतिशत अर्थात् १५ लाख बराबरको बीमा दायित्व यहीँका पुनर्बीमा कम्पनीमा सारिएको हुन्छ।
अहिले हामीकहाँ नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्स गरेर दुइटा पुनर्बीमा कम्पनी छन्। यी कम्पनीले कति भार आफै लिएका हुन्छन् त कति अन्य विदेशी पुनर्बीमा कम्पनीहरूमा सारेका हुन्छन्।
त्यस्तै, रसुवामा आएको बाढीले जाँचपासका लागि यार्डमा राखिएका ठूलो परिमाणका सवारी साधन पनि बगाएको छ।
यस्ता सवारी साधनको पनि बीमा गरिएको हुन्छ। यस्तो सवारी साधनको पूरै मूल्य बराबरको बीमा गरिएको हुन्छ। यस्तो बीमाको पनि पुनर्बीमा भने गरिएको हुन्छ।
यसअघि २०७२ सालको भूकम्पमा १६ अर्ब ९ करोड रूपैयाँ र गत वर्ष २०८२ भदौको जेनजी आन्दालनमा २३ अर्ब २० करोड रूपैयाँ बराबरको दाबी परेको थियो।