बाढी आउनुअघि नै समग्र सेयर बजार सूचक नेप्से घटिरहेको थियो। यो गिरावटलाई भदौ १० मा भोटेकोशी–त्रिशूलीमा आएको बाढीले थप बढावा दियो।
भदौ ५ गतेदेखि नेप्से परिसूचक र जलविद्युत समूहगत परिसूचक दुवै निरन्तर ओरालो यात्रामा थिए।
मंगलबार भने नेप्से बढेको छ। नेप्से २५०० को मनोवैज्ञानिक विन्दुमा टेवा पाएर फर्किएको हो। सय अंकका विन्दुलाई मनोवैज्ञानिक विन्दुको रूपमा हेरिन्छ। नेप्से परिसूचक ९ अंकले बढेर २५२२ विन्दुमा पुगेको छ।
योसँगै जलविद्युत समूहमा पनि सुधार देखिएको छ। मंगलबार जलविद्युत समूह ३४२० विन्दुसम्म पुगेर फर्कियो। यो विन्दु आसपास जलविद्युत समूहले दरिलो टेवा पाउने देखिएको थियो।
जलविद्युत समूह गत साल फागुन ११ गते यही विन्दु आसपास (३४२६ विन्दु) पुगेर बढ्न थालेको थियो। त्यसैले अहिले यो विन्दुमा टेवा परीक्षण गरिरहेको छ।
अहिले जलविद्युत समूहमा मात्रै १११ वटा कम्पनी सूचीकृत छन्। बाढीका कारण हालसम्म १५ भन्दा धेरै साना–ठूला जलविद्युत आयोजनामा प्रभाव परेको सार्वजनिक विवरणहरूले देखाएका छन्। यसमध्ये केही मात्रै सेयर बजारमा सूचीकृत कम्पनी हुन्।
हालसम्म सेयर बजारमा सूचीकृत १११ मेगावाटको रसुवागढी हाइड्रोपावर, २२.१ मेगावाटको चिलिमे हाइड्रोपावर, ५ मेगावाटको मैलुङ खोला जलविद्युत, ३७ मेगावाटको माथिल्लो त्रिशूली 'बी' लगायत आयोजनामा क्षति पुगेको छ।
सूचीकृत सान्जेन जलविद्युतको उत्पादन भने प्रसारण लाइनमा समस्या हुँदा राष्ट्रिय ग्रीडमा जोडिन नसकेको बताएको छ। सान्जेनले आफ्नो दुवै आयोजनामा कुनै प्रभाव नपरेको नेप्सेमा दिएको विवरणमा उल्लेख गरेको छ।
बजारमा सूचीकृतमध्ये निकै कम कम्पनीमा क्षति भएकाले पनि यो क्षेत्रमा क्रमिक सुधार देखिन थालेको मानिएको छ।
एक ब्रोकर भन्छन्, 'बजारमा पनि त्रासले बिक्रीको बाढी आएको थियो। अहिले त्यो थिग्रिएको छ। अब केही सुधार हुँदै जान सक्छ।'
मंगलबार बजारमा सबभन्दा धेरै सुधार हुनेमा जलविद्युत समूह नै रह्यो। यो समूह एक प्रतिशत (३५ अंक) ले बढेको र ३४७२ विन्दुमा पुगेको छ।
सेयर बजारमा कुल कारोबार रकम भने बढ्न सकेको छैन। सोमबार ३ अर्ब ६१ करोड रूपैयाँको सेयर (ऋणपत्र बाहेक) कारोबार भएकोमा मंगलबार २ अर्ब ८८ करोड रूपैयाँको भयो।
यसले लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा भएको संकेत गर्छ।
अर्का एक ब्रोकरले भने, 'माथिल्लो मूल्यका केही सेयर किनेकाहरूले अहिले औसत लागत कम गर्न पनि सेयर किने। धितोपत्र बोर्डले समेत सोमबार प्रभावको जानकारी दिन नेप्सेलाई निर्देशन गरेपछि केही सकारात्मक प्रभाव परेको हो।'
ब्रोकरहरू पनि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्।
त्यस्तै बाढीको प्रभाव पर्न सक्ने मानिएको निर्जीवन बीमा कम्पनीको समूहमा पनि मंगलबार सुधार आएको छ। यो समूह ८० अंक (०.८७ प्रतिशत) बढेर ९३२४ विन्दुमा पुगेको छ।
निर्जीवन बीमा कम्पनीहरूले मंगलबार नै यो बाढीबाट पर्न सक्ने दाबीको प्रारम्भिक विवरण सार्वजनिक गरेका छन्। बीमा प्राधिकरणमार्फत् सार्वजनिक विवरण अनुसार २६ अर्ब रूपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ।
२०७२ सालको भूकम्पमा १६ अर्ब ९ करोड रूपैयाँ र २०८२ को जेनजी आन्दोलनमा २३ अर्ब २० करोड रूपैयाँ बराबरको दाबी परेको थियो।
अहिले मुख्य गरी जलविद्युत समूहका लागि तत्कालको विन्दु महत्त्वपूर्ण टेवा बन्न सक्छ।
३४२० आसपासको यो तहबाट समूहले निरन्तरता पाउँदै माथि जान सके सेयर बजारमा बाढीपछिको त्रास क्रमशः कम हुँदै गएको मान्न सकिन्छ।
तर यो तहबाट घट्न थाले सुधारलाई तात्कालिक उछाल मात्रै मान्नुपर्ने अवस्था आउन सक्छ।
अहिलेका लागि भने जलविद्युत समूहले टेवा परीक्षण गरिरहेको र लगानीकर्ता पनि 'पर्ख र हेर' कै अवस्थामा रहेको देखिन्छ।