प्रभु बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि दुई करोड ११ लाख ११ हजार एक सय ११ रूपैयाँ आर्थिक सहयोग गरेको छ।
गत भादौ १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदी किनारमा रहेका बासिन्दाहरूलाई अपुरणीय मानविय तथा भौतिक क्षति पुऱ्याएको छ।
उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुऱ्याएको परीपेक्षमा, विपदको यस दुःखद् घडीमा पीडित एवम् प्रभावित परीवारहरूका लागि सहायता स्वरुप तथा पीडितहरूको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारलाई बैंकले सहयोग गरेको हो।
अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दुई करोड ११ लाख ११ हजार एक सय ११ रूपैयाँको चेक हस्तान्तरण गरे।
अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ।
साथै, सम्पर्क विहिन र घाइतेहरुको उद्धार तथा शीघ्र उपचारको कामना गर्दै प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ।