नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सार्वजनिक गरिएको विवरणमा रावल तथा परिवारका सदस्यका नाममा घरजग्गा, बैंक मौज्दात, सुनचाँदी र सेयर लगानी रहेको देखिएको छ।
विवरणअनुसार रावलकी श्रीमतीको नाममा भक्तपुरको मध्यपुर थिमी–२, दिव्यश्वरी प्लानिङमा १९१ वर्गमिटर क्षेत्रफलमा बनेको घर छ।
उक्त घर २०७७ फागुनमा १ करोड ८० लाख रूपैयाँमा खरिद गरिएको हो। घर खरिदमा बैंक ऋण, स्वआर्जन र पुरानो घरजग्गा बिक्रीबाट प्राप्त रकम प्रयोग गरिएको उल्लेख छ।
रावलकी आमाको नाममा कैलालीको टीकापुरमा २ बिघा १ कठ्ठा र अछामको बान्नीगढी जयगढमा करिब ४५ रोपनी जग्गा छ।
ती स्थानमा घरसमेत रहेको र पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ।
रावलको नाममा कैलालीमा १ कठ्ठा तथा श्रीमतीको नाममा करिब ६ लाख रूपैयाँ लागतको जग्गा रहेको छ।
धनगढीमा परिवारका सदस्यका नाममा ३३८.६३ वर्गमिटरका दुई कित्ता जग्गा छन्।
रावलको विभिन्न वाणिज्य बैंकमा ११ लाख ४९ हजार २१४ रुपैयाँ र १४ हजार २३ अमेरिकी डलर (करिब २१ लाख रूपैयाँ) मौज्दात छ।
श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थामा ३ लाख ८४ हजार ९२७ रुपैयाँ र रावलको नाममा ४० हजार रूपैयाँ नगद छ।
रूपैयाँ तथा डलरको बचत पारिश्रमिक, वैदेशिक तालिम तथा भ्रमणबाट प्राप्त रकमबाट भएको जनाइएको छ।
परिवारसँग २५ तोला सुन, २ किलो चाँदी र १ लाख रूपैयाँ मूल्यको हिराको औँठी रहेको छ।
सेयरतर्फ रावलको नाममा बैंक तथा वित्तीय संस्थाका ७७० कित्ता साधारण सेयर छन्।
श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थाका २७ हजार ५६७ कित्ता, बीमा कम्पनीका १३० कित्ता, जलविद्युत कम्पनीका २ हजार ३७९ कित्ता र डिस्टिलरी कम्पनीका १ हजार कित्ता सेयर छन्।
छोराछोरीको नाममा समेत बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीका कुल १४९ कित्ता सेयर छ।
रावलका छोराको नाममा २०८२ सालमा १ लाख ९५ हजार ४ सय रूपैयाँमा खरिद गरिएको होन्डा स्कुटर छ।
उनले नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावलीअनुसार ५० लाख रुपैयाँसम्म कर्जा तथा सापटी सुविधा लिन सक्ने उल्लेख गरेका छन्।
यस्तै, रावल तथा परिवारका सदस्यका नाममा एलआइसी नेपाल र राष्ट्रिय बीमा संस्थानमा २ लाख ७९ हजार रकम बराबरको बीमा गरिएको विवरणमा उल्लेख छ।