बैंक तथा वित्तीय संस्थाहरूमध्ये अहिले ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै चुक्ता पुँजी छ।
२०६५ सालमा ग्लोबल बैंकको नामबाट सञ्चालनमा आएको यो संस्था नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र ढकालको आइएमईसँग मर्जरमा गएसँगै ग्लोबल आइएमईको नामबाट सञ्चालनमा छ।
जनता, बैंक अफ काठमाण्डु, लुम्बिनी जस्ता वाणिज्य बैंकसहित २१ भन्दा बढी संस्था गाभिएर तथा प्राप्ति गरेर बनेको कारण चुक्ता पुँजीका आधारमा यो सबभन्दा ठूलो बैंक हो।
आइपिओ जारी गर्दा करिब ३० करोड रूपैयाँ चुक्ता पुँजीबाट यो सञ्चालनमा आएको थियो। हाल ३८ अर्ब १८ करोड रूपैयाँ पुगेको छ।
यही ठूलो पुँजीका कारण यसको सेयर आपूर्ति उच्च छ र मूल्य न्यून छ।
बुधबार भने यसको सेयर करिब १० रूपैयाँ बढेर २४९.९० रूपैयाँमा कारोबार भयो। कारोबार रकम पनि एक महिनायताकै उच्च भयो। बुधबार यसको सेयर ९ करोड ७ लाख रूपैयाँको कारोबार भएको हो। धेरै कारोबार हुने प्रमुख आठमा पनि ग्लोबल पर्यो।
आर्थिक वर्ष २०८२–८३ मा यसको खुद ब्याज आम्दानी घटे पनि नाफा २२ प्रतिशत बढेको छ। पाँच अर्ब ७ करोड रूपैयाँबाट बढेर नाफा ६ अर्ब २२ करोड रूपैयाँ पुगेको छ। यसको अन्य आम्दानी बढेकाले नाफामा सुधार भएको हो।
ग्लोबलको निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम छ।
यसले १२ प्रतिशत लाभांश क्षमता देखाएकोमा १० प्रतिशत घोषणा गरेको छ। यसमध्ये ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर घोषणा गरेको हो। यसले विगत पाँच वर्षदेखि औसत १० प्रतिशत हाराहारी लाभांश दिँदै आएको छ।
चुक्ता पुँजी उच्च भए पनि यसले विगतदेखि नै बोनस सेयरलाई प्राथमिकतामै राखेको छ। विगत १५ वर्षमा गत वर्षबाहेक यसले हरेक वर्ष बोनस लाभांश समेत दिएको छ।
एक वर्षयताको यसको सेयरको उच्च मूल्य २७० रूपैयाँ हो भने न्यून मूल्य २१८ रूपैयाँ हो।
सानिमा बैंक
२०६३ सालमा आइपिओ जारी गरेको सानिमा विकास वित्तीय संस्था नै २०६८ सालदेखि सानिमा बैंक भएको हो।
सानिमाले यसपालि भदौ ११ गते नै लाभांश घोषणा गरेको छ। यसले १० प्रतिशत नगद लाभांश दिने भएको हो।
सानिमाले २०.८५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखाएको थियो। यसले पाँच वर्षयता औसत ११.२४ प्रतिशत लाभांश दिएको छ।
सानिमाको नाफा आर्थिक वर्ष २०८२–८३ मा ३८ प्रतिशत बढ्यो। २०८१–८२ मा दुई अर्ब ५७ करोड रूपैयाँ नाफा कमाएकोमा २०८२–८३ मा तीन अर्ब ५५ करोड रूपैयाँ कमायो।
खुद ब्याज आम्दानी, अन्य आम्दानी बढेपछि र प्रावधान रकम घटेपछि यसको नाफामा उल्लेख्य सुधार भएको हो।
यसको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोडबाट बढेर ६ अर्ब ९९ करोड रूपैयाँ पुगेको छ। शुल्क, कमिसन र अन्य आम्दानीबाट दुई अर्ब ७४ करोड रूपैयाँ कमाएको छ।
यसअघि एक अर्ब ८८ करोड रूपैयाँ प्रावधान राखेकामा यस पटक एक अर्ब सात करोड रूपैयाँ मात्रै राखेको छ।
यसको निष्क्रिय कर्जा ३.०१ बाट घटेर २.८७ प्रतिशत भएको छ।
बुधबार यसको सेयर मूल्य सामान्य (१० पैसा) बढेर ३५८ रूपैयाँ पुगेको छ। यसको एक वर्षयताको उच्च मूल्य ३९० रूपैयाँ र न्यून मूल्य २९५ रूपैयाँ हो।
यसको प्रतिसेयर आम्दानी १८.९४ प्रतिशतबाट बढेर २५.७५ प्रतिशत भएको छ। सेयरमा प्रतिफल ११.७० प्रतिशतबाट बढेर १४.३९ प्रतिशत पुगेको छ।