नबिल बैंकले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ।
बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागिएको हो।
जसमध्ये २४ लाख कित्ता ऋणपत्रले हुन आउने कुल २ अर्ब ४० करोड रूपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिनेछ।
साथै १६ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ६० करोड ऋणपुँजी रकम (सोमध्ये ५ प्रतिशत अर्थात ६५ हजार कित्ता) ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको समेत सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ।
बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटिएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ।