सरकारले १५ जना सहसचिवको अन्तरमन्त्रालय तथा अन्तर निकाय सरुवा गरेको छ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयबाट १५ जनाको सरुवा तथा पदस्थापनको गरिएको हो।
यस क्रममा आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक रमेश अर्याल र भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेको पनि सरुवा भएको छ।
यसअघि आन्तरिक राजस्वबाट मदन दहाल र भन्सारबाट श्याम भण्डारीको सरुवा गरिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भीष्मकुमार भुसाल र यमलाल भुसाललाई अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत सहसचिव प्रेमप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालय वा अन्तर्गत लगिएको छ।
अर्थ मन्त्रालयमा कार्यरत श्यामप्रसाद भण्डारीलाई राष्ट्रपति कार्यालयमा र गजेन्द्र कुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
त्यसैगरी, अर्थकै सहसचिवहरू रमेश अर्याललाई गण्डकी प्रदेश र भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत प्रदेश सचिवका रूपमा पठाइएको छ।
परराष्ट्र मन्त्रालयका विन्देश्वर प्रसाद लेखकलाई मधेश प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ।
साविकको युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत मनिता श्रेष्ठलाई युवा, श्रम तथा रोजगार मन्त्रालयमा पदस्थापन गरिएको छ।
सूचना तथा सञ्चार मन्त्रालयका रामदत्त भट्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ।
स्वास्थ्य सेवा तर्फका रामआधार यादव (मधेश प्रदेश) र यदुचन्द्र घिमिरे (कोशी प्रदेश) लाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ल्याइएको छ भने सोही मन्त्रालयका कृतिपाल सुवेदीलाई कोशी प्रदेशको प्रदेश सचिवमा पठाइएको छ।
साविकको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मोनिका झा र शैलेस कुमार झालाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको छ।