वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको पहिलो मासिक औसत आम्दानी ५४ हजार ४०३ रूपैयाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ।
विदेश जान लागेको भर्ना लागत उठाउन भने औसत ३.३ महिनाको तलब आवश्यक पर्ने देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा गरेको आप्रवासी भर्ना लागत सर्वेक्षण–२०२३ अनुसार मलेसियामा गएका कामदारको पहिलो औसत मासिक आम्दानी ५७ हजार ६९६ रूपैयाँ छ।
यो सबैभन्दा बढी हो। कतार र संयुक्त अरब इमिरेट्समा करिब ५५ हजार रूपैयाँ छ। भारतमा भने औसत २६ हजार ८३ रूपैयाँ मात्र रहेको छ।
पुरुष कामदारको औसत मासिक आम्दानी ६४ हजार ७२१ रूपैयाँ छ। महिलाको ४८ हजार ६४७ रूपैयाँ छ।
सेवा क्षेत्रमा औसत आम्दानी ६५ हजार ३४५ रूपैयाँ छ भने कृषिमा ३४ हजार ५२८ रूपैयाँ छ। उच्च सीपयुक्त पेशामा औसत आम्दानी ६९ हजार ८९१ रूपैयाँ पुगेको छ।
सर्वेक्षणमा ३४.७ प्रतिशत कामदारले कुनै भर्ना लागत नतिरी विदेश गएको बताएका छन्।
महिलामध्ये ५४.२ प्रतिशतले शून्य लागतमा विदेश गएको बताएका छन्। पुरुषमा यो अनुपात ३३.२ प्रतिशत छ।
भर्ना लागत तिर्ने पुरुषले औसत १ लाख ७६ हजार ६८६ रूपैयाँ खर्च गरेका छन्।
महिलाको औसत खर्च २ लाख १९ हजार ३६२ रूपैयाँ छ।
महिलालाई यो लागत उठाउन औसत ४.५ महिनाको तलब आवश्यक पर्ने देखिएको छ।
दर्ता नभएका एजेन्टमार्फत विदेश जाने कामदारको लागत सबैभन्दा बढी रहेको छ।
उनीहरूले औसत ४.८ महिनाको आम्दानी बराबर खर्च गरेका छन्। परिवार वा साथीभाइको सहयोगमा विदेश जानेको लागत सबैभन्दा कम रहेको सर्वेक्षणले देखाएको छ।