२०८१ असोज २० गते नेपाली बजारमा सुन तोलाको एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको थियो। त्यसको एक वर्ष बित्दा सुनको मूल्य तोलामा ७२ हजार एक सय रूपैयाँले बढेको छ।
सोमबार बजारमा सुन प्रतितोला दुई लाख ३३ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
दसैंको विदायता दुई दिनमा मात्र सुनको मूल्य तोलामा १० हजार रूपैयाँले बढेको हो। नेपाली बजारमा २०७८ फागुन २२ गते पहिलो पटक सुनको मूल्य तोलाको एक लाख रूपैयाँ नाघेको थियो। सो समय सुनको मूल्य तोलाको एक लाख एक हजार नौ सय रूपैयाँ पुगेको थियो।
करिब साढे तीन वर्षमै नेपालमा सुनको मूल्य तोलाको दुई लाख रूपैयाँ नाघेको हो।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्यले नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। नेपाली बजारको मागले मूल्यमा खासै परिवर्तन हुँदैन्।
नेपालमा रहेका सुनचाँदी व्यवसायी महासंघहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन्। अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३९३५ डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा विभिन्न कारणले काम गरिरहेका छन्।
अमेरिकी केन्द्रीय बैंक (फेड)ले गत सेप्टेम्बरमा मात्रै व्याजदर प्रक्षेपण घटाएको छ। यसअघि ४.२५ देखि ४.५० प्रतिशत ब्याजदर भित्र यस्तो नीतिगत दर सीमित गर्ने लक्ष्य राख्दै आएकोमा अहिले घटाइएको हो। अहिले यस्तो दर ४ प्रतिशतदेखि ४.२५ प्रतिशतमा रहने बताइएको छ।
२०२५ सम्ममा यस्तो दर थप घटेर ३.५० देखि ३.७५ प्रतिशतसम्ममा सीमित हुन सक्ने बताइएको छ।
अमेरिकामा रोजगारी दर घट्न थालेको र बजारमा उपभोग बढाउन पनि फेड यसरी ब्याजदर कटौतीमा लागेको हो।
यसले संसारकै बलियो मुद्रा डलरको भाउ घट्ने अनुमानमा पनि लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन्। त्यसबाहेक अन्तराष्ट्रिय स्तरमा चलिरहेको व्यापार युद्ध, सशस्त्र युद्ध वा द्वन्द्वले पनि सुनको माग बढाउँछ।
अन्य मुद्रा वा भौतिक सम्पत्तिको तुलनामा सुनको विनिमय सजिलो हुने र साथमा लिएर हिड्न सकिने भएकोले पनि युद्ध र द्वन्द्व जस्तो अवस्थामा यसलाई सुरक्षित धनको रूपमा हेरिन्छ।
पछिल्लो समय विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले समेत सुन थुपार्ने प्रवृत्ति बढेकाले पनि सुनको भाउ बढ्दै गएको हो।
सन् २०२५ अन्त्यसम्म सुनको मूल्य प्रति औंस चार हजार डलर नाघ्ने प्रक्षेपण भइरहेको छ। हुनतः २०७९ मै केहीले सुनको मूल्य प्रति औंस चार हजार डलर नाघ्ने प्रक्षेपण गरेका थिए।
सुनको मूल्य अहिले प्रति औंस चार हजार डलर पुग्न करिब ६५ डलर बाँकी छ।