नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर कुल २९ अर्ब ३२ करोड ४७ लाख रूपैयाँ आम्दानी गरेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार समीक्षा वर्ष २०८२/०८३ मा भारत तथा बंगलादेशतर्फको विद्युत निर्यातबाट नेपालले अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी बिजुली बिक्री गरेको हो।
प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट (किलोवाट आवर) विद्युत निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रूपैयाँ आम्दानी भएको थियो।
तर समीक्षा वर्ष २०८२/०८३ मा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ।
भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७.५६ रूपैयाँ प्रति युनिटका दरले बिजुली बिक्री गरेको छ।
निर्यात आम्दानीमा वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत आयात भने उल्लेख्य रूपमा घटेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रूपैयाँ बाहिरिएको थियो।
तर समीक्षा वर्ष २०८२/०८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ।
आयात परिमाण घटेसँगै समीक्षा वर्षमा कुल आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रूपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो।
समीक्षा वर्ष २०८२/०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रूपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रूपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत व्यापारबाट मात्रै कुल १८ अर्ब ७६ करोड ४८ लाख रूपैयाँ खुद व्यापार बचत हासिल गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रूपैयाँ मात्र रहेकोमा समीक्षा वर्षमा यो बचत ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी) ले वृद्धि भएको प्राधिकरणको भनाइ छ।