नेपाल विद्युत प्राधिकरणले दसैंको अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
दसैंको समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले शुक्रबार प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय वितरण केन्द्रका प्रमुखहरूसँग भर्चुअल बैठक गरी दसैं अवधिभर विद्युत आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न निर्देशन दिएका छन्।
कार्यकारी निर्देशक श्रेष्ठले विद्युत आपूर्तिमा अवरोध भइहाले तत्काल मर्मतसम्भार गरी सेवा सुचारू गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिए।
साथै, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेको भए तत्काल सम्पन्न गरी विद्युत आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।
दसैंको समयमा विद्युत आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न 'नो लाइट' सेवामा प्राप्त हुने फोन उठाउने र गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको छ।
विद्युत आपूर्तिमा समस्या देखिए तत्काल प्राविधिक टोली परिचालन गरी यथाशीघ्र सेवा सुचारू गर्ने व्यवस्था मिलाउन कार्यालय प्रमुखहरूलाई भनिएको छ।
प्राधिकरणले विद्युत माग तथा आपूर्तिको अवस्थालाई निरन्तर निगरानी गर्दै विद्युत प्रणालीमा समस्या आउन नदिन आवश्यक सतर्कता अपनाएको छ।
दसैं अवधिभर विद्युत आपूर्तिलाई नियमित बनाउन सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई आवश्यक समन्वय र तयारीसहित परिचालनको व्यवस्था गरिएको छ।
यसैगरी, चाडपर्वको समय विद्युतको सुरक्षित प्रयोग गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत चुहावट वा तारमा समस्या देखिए आफै मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र गराउन प्राधिकरणले अनुरोध गरेको छ।
विद्युत आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित 'नो लाइट' सेवामा सम्पर्क गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।