रंगिन सपना लिएर उडेका मानिसहरुलाई बोक्दै सेता शान्त बादलहरुलाई छेडेर म चढेको प्लेन कुनै निलो समुन्द्रको माथि करिब पन्ध्र हजार फिटमा उडिरहेको छ। अस्ट्रेलिया मेरो सपना थियो, मेरो लक्ष्य थियो। आज पाँच वर्षपछि सपनालाई सार्थकता दिएर आफ्नै देश फर्किदैछु।
साँचेका सपनाहरुलाई प्रतिकुलताका वाणहरुले पटक पटक प्रहार गरेपनि घिसार्दै घिसार्दै आफ्नो गन्तव्यमा पुर्याई छाडेँ यी पाँच वर्षहरुमा। तिता अनि मिठा पलहरुको सम्मिश्रित यादहरु बोकेर आफ्नै देश फर्कनुको मजा छुट्टै हुँदो रहेछ। पाँच वर्षमा पहिलो पटक म मेरो आफ्नै गाउँ जाँदैछु- मेरो गाउँ, मेरो रोल्पा।
फूल र काँडा जस्तै विकटता अनि सुन्दरतामा हुर्केको रोल्पासँग गाँसिएका मेरा भावनाहरु कसैलाई पोखेर पनि पोखी नसक्नु छन्। प्लेनको त्यो सानो सिसाको झ्यालबाट देखिएका समुन्द्री छालहरु हेर्दै सोच्दै छु, सायद मनभित्रका भावना अनि ती सुन्दर छालहरु उस्तै उस्तै हुन्।
मैले छालहरुको आवाज नसुने पनि किनारामा आइरहेका छन्, संसारलाई बेवास्ता गरेर, मलाई बेवास्ता गरेर। भावनाहरु पनि उस्तै त हुन्। आइरहन्छन् हरेक पल मन मस्तिस्कमा संसारको पर्वाह नगरी।
विकट रोल्पाले सुन्दरतासँग तुलना गर्न मिल्ने चिजहरु त धेरै नै जन्माएको थियो तर सुन्दरताको पराकाष्टभन्दा पनि माथिको सुन्दर कुरा एउटा मात्र जन्माएको थियो- मेरी माया। उसको नाम नै माया थियो।
देशमा जनयुद्धको आगो दन्दनी बल्दै गर्दा मेरो र उसको मनमा माया पलाउँदै थियो। वात्सल्यदेखि एकअर्कालाई चिनेका हाम्रो मनमा मायाले जन्म लिएको थियो। नेपाली सेना र माओवादीबीचको युद्धमा रोल्पा ग्रष्त थियो।
बाल्यकालमा केटाकेटीहरु कोही डाक्टर त कोही पाइलट बन्ने सपना बुन्नु सामान्य कुरा हो तर रोल्पाका केटाकेटीहरु सेना र माओवादीले समाउने गोली समात्नुलाई आफ्नो सपना बनाउन बाध्य थिए।
एकदिन स्कुलबाट सँगै फर्किदा बाटोमा कसैले सानो पिपलको बिरुवा उखलेर फाली दिएछ। फालिएको त्यो बिरुवालाई मायाले माटोमा गाड्दै भनि- 'तलाई थाहा छ, यो पिपल कति ठूलो हुन्छ नि अनि कहिले मर्दा नि मर्दैन।'
'हाम्रो माया जस्तै हो माया?' हाँस्दै मैले सोधेँ।
बालापनमा पनि ठूला मान्छेले जस्तै जवाफ फर्काउँदै उसले भनी- 'हैन! त खाली अस्ट्रेलिया मात्र भन्छस्। तेरो माया त अस्ट्रेलिया गएपछि मरिहाल्छ नि।'
म चुप भएँ। मेरो सानो मस्तिष्कले उसको सानो मस्तिष्कबाट उब्जेको ठूलो जिज्ञासाको कुनै जवाफ सोच्न सकेन। हुन पनि म अस्ट्रेलिया भनेपछि जानेर होस् या भलै अज्ञानता मै होस्, भित्रभित्रै त्यहाँसम्म पुग्ने सपना देख्थेँ।
द्वन्दकालको डरलाग्दो परिस्थितिका बारहरुबाट घेरिएका युवाहरुको लागि उम्किने बाटो थोरैका लागि सायद अष्ट्रेलिया र धेरैका लागि खाडी मुलुक नै बनेको थियो। स्कुलबाट सँगै फर्किदा त्यही पिपलको बोट नजिक घन्टौ सँगै बस्थ्यौँ हामी।
पिपल सँगसँगै दिनप्रतिदिन हाम्रो माया पनि झाँगिदै गैरहेको थियो। हातमा बन्दुक बोक्दै देशको लागि भनेर लड्ने माओवादीहरु खुलेआम हिड्थे रोल्पामा। साँझपख बाबुआमा स्कुलबाट चाँडै घर फर्किनु भन्थे तर म र माया सधैँ पिपल बोटमा गफ गर्दै बस्थेउँ।
कतिपल्ट त माओवादीहरु आई 'ओइ केटाकेटीहरु, घर जानु पर्दैन? बन्दुकदेखि डर लाग्दैन?' भन्थे। म मायाको अगाडि थोरै त्रास र थोरै साहस बटुल्दै छाती फुलाएर लाग्दैन भन्थेँ। उनीहरु किन नि भन्थे। किनभने मसँग माया छ भन्थेँ म।
उनीहरु मेरो अर्थहीन जवाफ सुनेर हाँस्थे। सायद यही नै युद्धमाथि मायाको जित हो जस्तो लाग्थ्यो मलाई। युद्धमा ठूलो शक्ति हुन्छ भन्दै फुकेर हिड्नेहरुले मायाको शक्ति बुझेनन्। बुझुन् पनि कसरि! उनीहरुसँग बन्दुक थियो, मसँग मेरी माया।
माया मेरो शक्ति थिई। युद्धमा रनभुल्ल परेको रोल्पामा मेरो लागि माया मेरी मार्गदर्शक बनेकी थिई। युद्धले गर्दा प्रायः सबैजना नेपालको मुटु भनिने काठमाडौँमा बसाइ सर्दै थिए तर मेरो मुटु त देशको मुटुबाट दुई सय ८० किलोमिटर टाढा रोल्पामै थियो।
दिनहरु ढल्दै गए। रोल्पा चाउरी पर्दै गयो। रोल्पा पलपल मर्दै थियो। जीवित थिए त केवल युद्ध अनि हामीबीचको माया। सधैझैँ हामी त्यही पिपलको रुखमा भेट्थ्यौँ। हाम्रो प्रेम अनि पिपलको अब अनान्यश्रित सम्बन्ध थियो।
युद्धका गोली र बारुदका छर्राहरुले पिपल कुनै दिन घाइते हुन्थ्यो त अर्को दिन सकुशल हुन्थ्यो। माया र म पनि पिपलझैँ थियौँ। आज खस्रो बोलीका बारूदहरुले मनमुटाव, भोलि मायाका मलमहरुले मिलन। सायद पिपलसँगै हामी पनि ठूला भएका थियौँ।
उच्च शिक्षाको लागि म अस्ट्रेलिया उड्ने भएँ। माया काठमाडौँमा पत्रकारिता पढ्ने भई। असल पत्रकार बनेर रोल्पाजस्ता हजारौँ रोल्पाहरुका दर्दनाक कहानीहरु मनबाट उतार्दै कागजका पानाहरुमा छाप्छु भन्थी ऊ। म उड्ने अघिल्लो दिन आउन सक्दिनँ भन्थी तर भोलिपल्ट बिमानस्थलभित्र छिर्नै लाग्दा प्लेनले भन्दा पनि ठूलो आवाज निकालेर मेरो नाम लिँदै दौडिँदै आई।
मैले अंकमाल गर्दा सबै हामीलाई हेर्दै थिए। माया गर्दा सबै अचम्मित परेर हेर्छन् अनि रोल्पामा झैँ बन्दुक चल्दा सामान्य रुपमा लिन्थे नेपालीहरु। युद्धमा जन्मिएको हाम्रो कहानी केवल माया र मलाई मात्र थाहा थियो।
'पिपल झैँ हाम्रो माया मर्दैन भन्थिस, हेर्छु म' राता आँखा बनाउँदै जानेबेलामा उसले भनेकी थिई।
आज पाँच वर्षपछि रोल्पा जाँदैछु। पाँच वर्षमा नेपालमा गणतन्त्र आएछ। देशले काँचुली फेरेको थियो। मानसपटलमा ताजा नै रहेका यादहरु स्मरण गर्दैगर्दा त्रिभुवन विमानस्थल आइसकेछ। म रोल्पाको लागि हिँडे।
मलाई मेरी मायालाई भेट्नु थियो। थकानका बाबजुत पनि रोल्पा पुगिछाडेँ। झम झम पानि पर्दै थियो। म भिज्दै त्यही पिपलको रुखमा पुगेँ। माया त्यही टुक्रुक्क काप्दै बसिरहेकी रैछ, मेरो पर्खाइमा।
ऊ जस्ताको त्यस्तै थिई। दुर्भाग्यवश पिपलको रुख बर्खामा पनि सुकेर उजाड भैसकेको थियो। ऊ आँखाभारि खुसीका आँसु लिएर दौडिदै म नजिक आई अँगालो हाल्दै भनी- 'हेर न, हाम्रो पिपल त मरेछ।'
मैले पनि अंगालोमा कस्दै भनेँ- 'माया सानो बेलामा तैले पिपल मर्दैन तर तेरो माया अस्ट्रेलिया गएपछि मर्छ भन्थिस् नि याद छ? जनयुद्धमा घाइते मात्र हुने पिपल गणतन्त्र आइपुग्दा मरेछ। पिपल माटोमा हुर्केको थियो, तेरो र मेरो माया मनमा। सजिलै कहाँ मर्छ त लाटी!
हाम्रो माया संघर्ष हो, युद्ध हो, शान्ति हो, सहनशीलता हो, पर्खाइ हो अनि राजनीति हो। फरक यति हो कि राजनीतिमा माया झुटो हुने रैछ, हाम्रो मायामा राजनीति सँच्चा छ।'
आँखाभरि आँसु लिएर मुसलधारे पानीमा भिज्दै ऊ मलाई हेर्दै मुसुक्क हाँसी। पत्रकार ऊ थिई तर सायद पत्रकारिताको भाषा मैले बोलिरहेको थिएँ।