गाडी चालक मुन्टो पछाडि फर्काएर ठाडो अनुरोध गर्छन्, ‘अलि पछाडि सरौँ न हो!’
एउटी जवान ठिटी सानो स्वरमा गाडीको अन्तिमतिर उभिएर भुतभुताउँछिन्, ‘१६ जनाको सिटमा ३२ जनाभन्दा बढी हालेका छन्। यहाँभन्दा पछाडि त अब काखैमा बसे मात्र हो।’
हिजोआज मेरो दैनिकी काठमाडौँका सडकमा यतै कतै कामका सिलसिलामा यात्रा गर्दै टहलिएर बित्छ। प्रायजसो बिहान सबेरै कामकै सिलसिलामा म घरदेखि सुन्धारासम्म लोकल गाडीमा यात्रा गर्ने गरेको छु।
हिजोआज खुब चलनमा भएको विद्युतीय चार्जबाट चल्ने इलेक्ट्रोनिक भ्यानले सहरका सडकहरू लगभग सेतै देखिँदा रहेछन्। बिहान करिब ३० देखि ४५ मिनेटको यात्रा गरिरहँदा यो सेतो गाडी यति भरिभराउ हुने रहेछ, त्यो भनेर साध्य छैन। भित्री सडकबाट मुख्य सडक कलंकी, कालीमाटी हुँदै सुन्धारा, रत्नपार्कसम्म पुग्ने यस्ता गाडी समय र सुविधाको हिसाबले निकै सहज हुने कुरा मैले यस्ता गाडी चढ्न सुरु गरेको केही दिनमा थाहा पाएँ।
काठमाडौँमा जनसंख्याको चाप यति बढ्दो छ कि आफ्नै साधन चलाउनेहरू सँगसँगै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरू पनि उत्तिकै छन्। यात्रुलाई सहज यात्रा गराउनु सार्वजनिक यातायात व्यवसायी, चालक र सम्बन्धित निकायको सेवामूलक व्यवसाय हो। तर काठमाडौँका सडकमा चल्ने यस्ता गाडीहरूले पाएदेखि र मिल्ने भए सबै मानिसलाई एकैपटकमा आफ्नै गाडीमा लगेर पुर्याइदिऊँ जस्तो गरिरहेका हुन्छन्।
म बस्ने ठाउँतिर करिब १० मिनेटको अन्तरमा गाडी छुट्ने गर्छ। मैले यात्रा गर्ने रुटमा मैले थाहा पाए र मेरा आँखाले देखेअनुसार यात्राका क्रममा सिट खाली कहिल्यै भएको छैन। ठुला गाडीमा जस्तो यस्ता भ्यानहरूमा सहचालक भने खासै देखिँदैनन्। सहचालकले ओगट्ने एक जनाको ठाउँमा अर्का एक जना यात्री अटाउँछन् भन्ने हेतुले पनि हुनसक्छ सहचालकको आवश्यकता नभएको।
चालकले नै गाडी चलाउने, यात्रुलाई मिलेर बस्नुस्, अलि भित्र पस्नुस् त, सर्नुस् त जस्ता अनुरोध गर्ने, गाडी भाडा संकलन गर्ने जस्ता सबै काम एक्लैले गरिदिन्छन्। सहचालक नहुने भएकाले पनि ‘दुई लाइन मिलेर बस्नुस् त’ भनेर पटक-पटक सतर्क गराइरहन आवाज नसुनिने भएर साथै यस्ता भ्यान आफैमा साना आकारका हुने भएकाले दुई लाइन उभिएर अडिन सक्ने अवस्था हुँदैन।
विशेष गरी बिहान र बेलुकाको समयमा अत्यधिक यात्रुहरूको भिड मज्जाले देख्न पाइन्छ। यात्रुहरू यति हतारमा हुन्छन् कि उनीहरू गाडीमा सकी नसकी झुन्डिएरै यात्रा गर्न तयार हुन्छन्। ठेलमठेलको अवस्थाबाटै सडकका बिच चोकबाट कठिन यात्राका लागि तयार रहेका यात्रुहरू तँछाडमछाड गर्दै गाडीको ढोकामा आफ्ना हात खुट्टा अड्याउन खोज्छन्।
त्यसै बखत बसपार्कबाटै गाडी चढेर पनि भित्र उभिएर यात्रा गर्नु परेका केही यात्रु च्याँठिन्छन्, ‘अर्को आइहाल्छन् नि! यस्तो भिड देख्दा देख्दै चढ्न पर्ने?’
सिटको आड लगाएर उभिने अर्का व्यक्ति त्यसैमा थप्छन्, ‘मान्छेहरू बुझ्दैनन्, गर्ने के त खै!’
उता भ्यानको ढोकामा जोखिम मोलेर झुन्डिएका केही यात्रु उल्टै प्रश्न तेर्स्याउँछन्, ‘हामी कति बेलादेखि गाडी कुरेको कुरै छौँ। जुन गाडी आए पनि यस्तै भिड, खुट्टा टेक्न नसकिने आउँछ। अनि हामी चाहिँ नजाने?’
जोखिम मोलेरै यात्रामा होमिएकी अर्की महिला झुन्डिएकै अवस्थामा रिसालु आवाजमा बोली फर्काउँछिन्, ‘आफ्नै गाडी हो जसरी कराउँछन्। सबैलाई जानै परेको छ, पुग्नै परेको छ, हामी चाहिँ यही बसिरहने हो र?’
यति सुनिरहँदा गाडीको एक छेउमा त्यही ठेलमठेलमा पेलिएर छेउको सिटमा अडिएको मेरो मनले ती जोखिम मोलेर यात्रा गर्न बाध्य जमातलाई सोध्ने प्रश्न तयार गर्छ, ‘पुग्नु त सबैलाई परेकै छ, तर यस्तो जोखिमपूर्ण यात्रा गर्दै गर्दा कहीँ कतै दुर्घटना भयो भने, पुग्नुहुन्छ त?’
देशको राजधानी काठमाडौँ सहर हो, कम्तीमा यात्राका लागि एकभन्दा बढी विकल्पहरू पक्कै छन्, प्रशस्तै छन्। यस्तो अवस्थामा वैकल्पिक यात्राका साधनहरूलाई प्रयोग गर्नु उचित हुन्छ होला।
लामो समयदेखि नियाल्दै गरेको यो यात्राका समस्याहरूलाई मध्यनजर गर्दै हरेक समय जोखिमपूर्ण यात्रा गर्ने अटेरी यात्रुलाई मेरो सुझाव, कृपया यात्राका क्रममा अरू विकल्प अपनाउनुहोस्, जोखिमपूर्ण यात्रा गर्दै गर्दा तपाईं ५/१० मिनेट वा योभन्दा बढी समय छिटो पुग्ने आशाले ज्यानलाई जोखिम मोलेर यात्रा नगर्नुहोस्। यस्ता यात्राले आकलन नगरिएको दुर्घटना नहोस्। आजैबाट यस्ता जोखिमपूर्ण यात्रा गर्नबाट रोकिनुहोस्।
जोखिमपूर्ण यात्राका परिणामहरू थाहा हुँदाहुँदै पनि सधैँभरि अटेरी गरेर नै ‘आ छोड्देऊ हुने कुरा भइहाल्छ’ वा ‘केही हुन्न हो’ भन्दै यस्ता यात्रा गर्नु हुन्छ भने त भन्नु केही छैन। तर यति चाहिँ याद गर्नुहोस् कि तपाईंले पाउनु भएको एक बारको जीवन अमूल्य छ। कहीँ कतै जाँदा बरु १० मिनेट छिटो निस्कनुहोस् तर आजैबाट यस्ता जोखिमपूर्ण यात्रा गर्नबाट रोकिनुहोस्। अझ महिलाहरू बढी होसियार हुनुपर्छ होला, यस्तै यात्राका क्रममा दुर्व्यवहारमा पर्ने जोखिम पनि हुन सक्छ। जोखिम बाजा बजाएर ‘लौ त म यतै कतै थिएँ, आएँ’ भनेर आइपुग्दैन।
जोखिमपूर्ण यात्राकै कुरा गरिरहँदा अर्को कुरा पनि भन्न मन लाग्यो। यात्राकै क्रममा सिटमा बसिरहेका यात्रुहरूलाई कहिलेकाहीँ स्वास्थ्य अवस्था ठिक नभएर उभिरहेका यात्रुले सिट छोडिदिन आग्रह गर्छन् र भन्छन्, ‘मलाई निकै गाह्रो भएको छ, बस्न दिनुहुन्छ?’ वा कहिलेकाहीँ उनीहरू बोलेर आफ्नो समस्या प्रकट गर्दैनन् तर उनीहरूको हाउभाउले देखाइरहेको हुन्छ कि उनीहरूलाई उभिएर यात्रा गर्न समस्या भइराखेको छ। कोही साना केटाकेटी बोकेका आमाहरू यात्रामा सम्मिलित हुन आउँछन्। त्यस्तो बेलामा अरूले सिट छोडिदेला भनेर मुख हेर्नुभन्दा वा अरूले सिट छोडिदिएनन् भनेर दोषपूर्ण बोली बोल्नुभन्दा दिक्क नमानेरै आफू बसिरहेको सिट छोडिदिनु राम्रो हुन्छ भन्ने लाग्छ।
आफू बस्नका लागि यात्रामा पाएको सिट छोडी उभिएर यात्रा गर्नुपर्दा तपाईंलाई केही क्षण त असहज होला तर यति म ठोकुवा गरेर भन्न सक्छु कि तपाईंलाई मन भित्रको सन्तुष्टि भने पक्कै मिल्नेछ। जसले तपाईंसँग यस्ता सहयोगका लागि अपेक्षासहित अनुरोध गरेका हुन्छन्, तिनले तपाईंमा सहयोगी गुण वा भाव देखेर सहायताको लागि अनुरोध गरेका हुन्छन् भनेर सम्झनुहोस्।
अर्को एउटा चित्त नबुझ्दो कुरा चाहिँ महिलाका लागि भनेर छुट्टाइएको सिटमा बिरामी, बच्चा बोकेका व्यक्ति, अशक्त व्यक्ति, वृद्धवृद्धालाई असहज तरिकाले उभिएको देखेर पनि नदेखे झैँ गर्दै तन्दुरुस्त महिला ‘महिला सिट’ मा बसिरहनु उचित हुन्छ जस्तो मलाई लाग्दैन।
जस्तोसुकै परिस्थितिमा पनि आवश्यकताअनुसार सहयोगी भाव र मानवता भन्ने चाहिँ हरेक नागरिकमा हुनुपर्छ। तपाईं वास्तवमा कस्तो व्यक्तित्व भएको मानव हुनुहुन्छ भन्ने कुरा यस्तो अवस्थामा सायद तपाईंको व्यवहारले पनि झल्काउँछ।