कर्मकल्चर
धनगढी विमानस्थलदेखि कारमा घोडाघोडीतिर गुड्दै गर्दा बहिनीले सोधिन्, 'दादा, किन गाईहरू यसरी जताततै सडकमा छन्?'
चालक चेतराज जोशीले उल्टै प्रश्न गरे, 'तिमी अहिले बस्ने देशको राष्ट्रिय जनावर के हो?'
'कंगारू।'
'तिनीहरू सडकमा हुन्छन् कि हुँदैनन्?'
'हुन्छन्।'
'हाम्रो पनि राष्ट्रिय जनावर भएकाले सडकमा निस्केका हुन्!'
कैयौं वर्षपछि स्वदेश फर्केकी ती बहिनी मात्र होइनन्, बाहिरबाट आउने जो–कोहीलाई पनि छक्क पार्ने गरी गाईहरू जताततै देखिन्छन्।
ती पहाडी जातका हुन्, तराई जातका हुन्, बढी त ठिमाहा गाई नै होलान्।
कैलाली–कञ्चनपुर क्षेत्रमा गाईको संख्या बढी हुनु — अझ सुदूरपश्चिम प्रदेश राजधानी नजिक झनै गाईहरू फैलिनु — सत्तानजिक भएर होइन, सत्तानजिक कृषिकर्म खुम्चिँदै गएका कारण हो।
धनगढी विमानस्थल ओर्लेपछि उनले हाँकेको बिजुली कारमा घोडाघोडीतिर सडकमा गाईतिर हेर्दै गर्दा उनले बहिनीलाई भनेको हामीलाई सुनाए।
अनि थपे, 'गाई पनि नचाहिने, भाइ पनि नचाहिने भयो। जे चल्छ, त्यो चलन बन्छ। गाईको चलन हरायो।'
गाई बग्रेल्ती थिए, तर बगालमा थिएनन्। एक घण्टा लामो यात्रा गर्दा साँझ झमक्क पर्न लाग्दासम्म गाईको ताँती टुटेन। तर कतै तितरबितर भइहाल्थे।
गोधुली साँझमा गाईहरू गोठ फर्किन्थे। गोठ फर्किरहेका गाईका खुरले उडाएको धूलोमा सूर्यास्तका सुन्तलाजस्ता किरण झर्दा गोधुली साँझ हुन्थ्यो। तर अहिलेका यी गाईहरूको कुनै गन्तव्य थिएन। यी गाई कता गइरहेका थिए, हामी भन्न सक्दैनथ्यौं। गाई आफैलाई थाहा थिएन। किनभने यी गाईहरू लखेटिएका थिए।
पालेका र छाडिएका गाई हेर्दा नै छुट्ट्याउन सकिन्छ। गाईलाई पनि गोठको टुंगो चाहिन्छ।
बेसहारा गाई सडकमा भौंतारिँदा चालक जोशीले भने, 'पूर्व–पश्चिम राजमार्गको सुदूरपश्चिम खण्ड मात्र होइन, हाम्रो भेगका धेरै सडकहरूमा अहिले दुर्घटनाको मुख्य कारण गाई बनेका छन्।'
प्रदेश बने, स्थानीय सरकारहरू सक्रिय भए, कृषि भने झनै शिथिल हुँदै गयो। तीनै तहका सरकारहरूले कृषिको व्यवसायीकरण, यान्त्रिकीकरण र रासायनीकरणमा जोड दिँदा साना किसान निरूत्साहित भए। आत्मनिर्भर किसान बजारआश्रित व्यवस्थामा टिक्न नसकी गाईपालन झन्झट मान्न थाले। दूध डेरीको, खेतबारी ट्र्याक्टरको सस्तो र सजिलो विकल्प आएपछि गाई पनि नचाहिने, गोरू पनि।
केही वर्षयता तराई अझै बढी बसोबासयुक्त हुँदै गएको छ। सहर–बजार क्षेत्र विस्तार भइरहेको छ। परिवारलाई बजारतिर थान्को लगाएर बिदेसिने क्रम पनि बढ्दो छ। यता कृषिप्रति आकर्षण घटेको छ, उता पशुपालन छोड्ने क्रम। अनि गाई लखेट्नेहरू गोधुली साँझमै अरूले नदेख्ने गरी काम सकाउँछन्।
गोठमा कुँडो, घाँस, पराल खान पाउने गाई अहिले सडकछेउको कागजका बक्सा च्याप्दै चपाइरहेका देखिन्छन्।
म त्यसको भिडिओ खिचेर नजिकैको घोडाघोडी नगरपालिका भवन छिरेँ।
नगरपालिकाले सामुदायिक वनतिर हुलेर गाई व्यवस्थापन गरेको साँचो हो त भनेर सोध्न खोजेको थिएँ। तर तालाबन्दी रहेछ।
ठेकेदारले समयमा सडक नबनाएको भन्दै नगरवासी नगरपालिकासँग रिसाएका रहेछन्।
भैंसी सजिलै किनबेच हुन्छ। गाई भने भारतको उत्तर प्रदेशतिर बढेको राजनीतिका कारण नेपालभित्रै थुप्रिन थाले। गाईप्रति श्रद्धा बढ्नुको सट्टा डर बढ्दै गयो। कसैले पाल्न डोहोर्यायो भने पनि मार्न लगेको होला भन्दै भीडहरूले उन्मादी फैसला गर्न थाले। यता देशभित्र पनि मरेका गाई वरपर कोही फेला परेको कसैले चुक्ली लगायो भने मुद्दा लाग्ने डर घटेन।
गाईप्रति हेला यहीँ टुंगिँदैन। साँझ पर्दा कतै बास बस्न गएकी गाईलाई जसले पनि लखेटिहाल्छ। सक्नेले बारबेर लगाउँछ, नसक्नेले जाग्राम बसेर बाली जोगाउँछ।
घोडाघोडी–४, माघीका धनीराम थारूका शब्दमा, 'जसले गोठबाट गाई लखेट्यो, उसको खेतीपाती छ भने उही रात ती गाई आइपुग्छन् भनेर चौकीदारी गर्नुपर्छ।'
जस्तै, पहाडमा बाँदर लखेटेझैं।
गाईको संख्या सडकमा असरल्ल देखिनु कृषिमा व्याप्त संकटको लक्षण हो। राज्यले कस्तो कृषिलाई प्रोत्साहन दिने भनेर निधो नगरेसम्म यी गुणिला प्राणीहरू यसैगरी असहाय भइरहनेछन्। स्थानीय जातका गाई त लोप हुने नै छन्। ठिमाहाले पनि अर्को बेत ब्याउन सक्दैनन्। ब्याए पनि स्याहार नपुगेर थप अशक्त हुनेछन्।
घोडाघोडी बहुमुखी क्याम्पसले कृषि र रोजगारीबारे आयोजना गरेको दुई दिने छलफलमा भाग लिएर म धनगढी फर्किँदा चालक जोशीले त्यही सडक कुदाए। कृषिमा कसरी युवालाई आकर्षित गर्न सकिन्छ भन्ने मूल प्रश्न थियो।
हाल कृषि उत्पादनमा पार्टीलाई होमेका नेकपाका नेत्रविक्रम चन्द (विप्लव) ले व्यावसायीकरणबाट सम्भव छ भने। मैले गुजारामुखी कृषिकै आत्मनिर्भर बाटोको तर्क गरेँ।
छलफल जारी रहन जरूरी छ।
त्यही गाई भौंतारिरहने सडक हुँदै धनगढी फर्किँदा अत्तरियादेखिको फराकिलो सडक पुगेपछि जोशीले भने, 'अत्तरिया र धनगढी जोडेर अब यो महानगरपालिका हुनेछ।'
देश त विकासको पथमै छ। तर जनताको जीविकासँग जोडिएका जिज्ञासा भने जेलिएकै छन्। जस्तो कि यी गाई!
यो घोडाघोडी नगरपालिका वा सुदूरपश्चिम सरकारको मात्र प्रश्न होइन, महानगरपालिका बन्ने धनगढीको पनि बुतामा छैन। यो सिंगो देशको विषय हो।
के यी गाई यसैगरी सिद्धिँदै जाऊन्?
नेपालका लागि कस्तो कृषि भन्ने नीति तय नगरी यी गाई गोठ फर्किन पाउने छैनन्!