वर्तमान विश्व विविधता र पृथकताको सुन्दर आवरणमा गाँसिएको छ। अहिले हामी जो जति मानिसहरू छौँ, सबै अरूभन्दा निकै पृथक्, विशेष र फरक भएर बाँच्ने चेष्टा गरिराखेका छौँ। हामीलाई आफ्नो कर्म, मर्म, संघर्ष र लगनशीलताले एक व्यक्तिभन्दा बेग्लै पहिचान र आवरणमा बाँधिएर रहन अभिप्रेरित गरेको छ।
योग्यता, क्षमता, दक्षता र निरन्तरको त्याग अनि समर्पणले गर्दा हरेक व्यक्ति समाजमा अरूभन्दा फरक र विशेष क्षमता दर्साएर बाँच्न र आफ्नो जीवन निर्वाह गर्न चाहनु कुनै नौलो कुरो पक्कै होइन। तर नेपाल र नेपाली समाजले यसको ठिक विपरीत अभ्यास गरिरहेको छ भन्दा कुनै अत्युक्ति नहोला।
कुनै व्यक्तिको योग्यता र अन्तर्निहित कलालाई फरक अनि विशेष क्षमताको उपमा दिनु पर्ने ठाउँमा अपाङ्गता र अपाङ्गता भएका व्यक्तिहरूलाई यो पहिचान भिराउन नेपाली समाज जबरजस्त लागिपरेको छ। सरकारी कार्यालयदेखि सार्वजनिक समारोहसम्म, विश्वविद्यालयदेखि विद्यालयसम्म, सञ्चार माध्यमदेखि राजनीतिक दलसम्म, बुद्धिजीवीदेखि श्रमजीवीसम्म, नागरिक समाजदेखि विभिन्न सङ्घ संस्थाहरूसम्म सबै यो गलत भाष्यलाई काँध हालेर हिँडिराखेका छन्।
यो आलेख मूलतः अपाङ्गता, यसका विविध आयाम र अपाङ्गतालाई सम्बोधन गर्न प्रयोग गरिने उपरयुक्त शब्दावलीहरूको सेरोफेरोमा केन्द्रित छ।
नेपाली शब्दकोशले अपाङ्गतालाई ‘अङ्गभङ्ग भएको, शरीरको कुनै अङ्ग विकृत भएको, हातगोडा आदि भाँचिएको वा नाक, कान, आँखा आदि विकृत भएको’ अवस्था हो भनी परिभाषित गरेको छ। यति मात्र नभएर अपाङ्गतालाई ‘विकलाङ्ग’ भनेर पनि परिभाषित गरेको शब्दकोशहरूमा छ्यापछ्याप्ती भेट्न सकिन्छ। यस अर्थले अपाङ्गता सम्बन्धी विश्वव्यापी अवधारणा र नेपाल पक्ष राष्ट्र रहेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको प्रस्तावनासँग कुनै पनि तादात्म्य राख्दैन। यदाकदा अपाङ्गतालाई पूर्वजन्मको पाप वा धर्तीको बोझ भन्ने चलन पनि सुनिन्छ, जुन आफैमा गलत र हास्यास्पद छ।
अपाङ्गता एक अवस्था हो जुन व्यक्तिमा हुने विचलन, क्रियाकलापमा आउने सीमितता र सहभागितामा हुने अवरोधको समष्टि रूप हो। यो व्यक्तिगत वा निजी समस्या मात्र नभएर शारीरिक वा मानसिक विचलन र वातावरणजन्य अवरोधहरू बिच हुने अन्तरक्रियाबाट उत्पन्न हुने अवस्था हो। अपाङ्गता कुनै आर्जित प्रक्रिया होइन, यो विभिन्न अवरोधले सिर्जना गरेको कार्य सीमितता र पहुँच विहीनताको उपज हो।
सबै व्यक्तिले जन्मँदैमा अपाङ्गतालाई साथमा लिएर आएको हुँदैन। भौतिक अवरोध, सूचना तथा सञ्चारजन्य अवरोध, नीतिगत तथा कानुनी अवरोध र व्यवहारजन्य अवरोधले दैनिक जीवनयापनमा कठिनाइ सिर्जना गर्छन् र सहभागितामा अघोषित प्रतिबन्धात्मक वातावरण रचना गर्छन् अनि कुनै पनि व्यक्तिले नचाहेरै भए तापनि अपाङ्गता बोकेर हिँड्नु पर्ने बाध्यकारी अवस्था छ।
विभिन्न अध्ययन र खोजहरूले हाल विश्वव्यापी रूपमा १.३० अर्बभन्दा बढी मानिसहरूमा कुनै न कुनै खाले अपाङ्गता भएको कुरा पुष्टि गरेका छन्। विश्वको जनसंख्याको १६ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारको अपांगतासँग बाँचिरहेका छन्। तिनीहरू मध्ये ८० प्रतिशत मानिसहरू विकासशील देशहरूमा बस्छन् (संयुक्त राष्ट्र संघ)। नेपालमा भने करिब २.२ प्रतिशत व्यक्तिहरूमा अपाङ्गता रहेको कुरा जनगणना २०७८ को आधिकारिक तथ्याङ्कले पुष्टि गरेको छ।
संसारमा अपाङ्गतालाई हेर्न र बुझ्न मुख्यतः चार दृष्टिकोण एवम् अवधारणाहरू रहेको पाइन्छ जसले अपाङ्गतालाई फरक-फरक कोणबाट व्याख्या एवम् परिभाषित गर्ने गरेका छन्।
पहिलो- दया र कल्याणकारी अवधारणा
विशेष गरी अपाङ्गताको यो अवधारणाले अपाङ्गतालाई कुनै पनि व्यक्तिको व्यक्तिगत समस्या भनी परिभाषित गरेको पाइन्छ। यसमा समाजको कुनै भूमिका रहेको हुँदैन। असक्षमता, कमजोरी र अरूको सहयोग चाहिनेजस्ता सवालहरूलाई यस अवधारणाले वकालत गरेको छ। अपाङ्गता भएका व्यक्तिहरू बिचराका पात्रहरू हुन्, धर्तीका बोझहरू हुन्, केही काम गर्न सक्दैनन्, उनीहरूलाई घर भित्रै सीमित राखिनु पर्छ र व्यक्ति स्वयमको परिवारले लालन-पालन गर्नु पर्छ भन्ने पश्चगामी विचारबाट प्रेरित भएको देखिन्छ।
दोस्रो- चिकित्सकीय अवधारणा
यस अवधारणाले अपाङ्गतालाई शारीरिक तथा मानसिक रूपमा कमजोर, बिमारी, रोग, उपचारको आवश्यकता र अरूको सहयोग आवश्यक पर्ने कुरामा जोड दिएको छ। शरीरका कुनै अङ्ग-प्रत्याङ्गहरूले यथोचित काम नगर्नु वा नहुनु, औषधी सेवन गरिराख्नु पर्ने, दीर्घकालीन रोगबाट ग्रसित र मानसिक विचलन आदिलाई यस अवधारणाले इङ्गित गर्न खोजेको देखिन्छ।
तेस्रो- सामाजिक अवधारणा
अपाङ्गताको यो पक्ष अवरोध, बहिष्करण, विभेद र एक्लाइनु जस्ता अवधारणासँग सम्बन्धित छ। विशेष गरी यसले अपाङ्गता भएका व्यक्तिहरूलाई घर-परिवारबाट टाढा कतै सामूहिक आश्रम, अनाथालय, छात्रावास वा अन्य कुनै सामुदायिक केन्द्रहरूमा लगेर राख्नुपर्ने कुरालाई उठान गरेको छ। त्यति मात्र नभएर यसले उनीहरूलाई सबैले सकेको सहयोग गर्नु पर्छ, दीर्घकालीन आवश्यकतालाई उपेक्षा गर्दै तात्कालिक आवश्यकता परिपूर्ति गरिदिनु पर्छ र सरकार वा समाजले सदाबहार निगरानी गर्नु पर्दछ भन्ने मान्यता बोकेको छ।
चौथो- अधिकारमुखी अवधारणा
अपाङ्गताको यस मान्यताले अपाङ्गता र विकासलाई एकै साथ अगाडि बढाउनु पर्छ भन्ने कुरामा जोड दिन्छ। यसै गरी हरेक मानिसले मानव भएकै नाताले जति अधिकारहरूको उपयोग गर्न पाउँछन् ती सबै अधिकारहरू अपाङ्गता भएका व्यक्तिहरूले पनि समान आधारमा उपयोग गर्न पाउनु पर्ने कुराको वकालत गर्दछ।
अर्थात् शारीरिक वा मानसिक अवस्था फरक भएकै कारणले कुनै पनि व्यक्तिलाई मानव अधिकारको उपयोग गर्नबाट वञ्चित पारिनु हुँदैन।
बरु मानव अधिकारको उपयोग सुनिश्चित गर्नको लागि उनीहरूका विशिष्ट आवश्यकताहरूलाई पहिले सम्बोधन गर्नुपर्छ। सम्पूर्ण अपाङ्गताको प्रकृति र स्वरूपलाई हृदय गमन गर्दै विशेष व्यवस्था गरिनु पर्छ भन्ने स्पष्ट अडान यस मान्यताले अङ्गीकार गरेको पाइन्छ। दृष्टिविहीनका लागि ब्रेल सामाग्री, गमनशीलता तालिम, अपाङ्गतामैत्री भौतिक संरचना, उपयुक्त अनुकूलता, सहायक सामग्री, सहयोगीको व्यवस्था, विशेष सामाजिक सुरक्षा, समुदायमै पुनर्स्थापना सेवा, साङ्केतिक भाषाको विकास र दोभासेको व्यवस्था, विभेद विरुद्धको कानुनी हक, मैत्रीपूर्ण सूचना र सञ्चार प्रणालीको सुनिश्चितता गर्नु पर्छ भन्ने अग्रगामी र सम्मानजनक मान्यता यस अवधारणाले आत्मसाथ गरेको देखिन्छ।
वर्तमान समयमा अपाङ्गता भएका व्यक्तिहरूले अथाह चुनौती र समस्यासँग पौँठे जोरी खेलिरहनु परेको छ। त्यस्ता समस्याहरू र चुनौतीको कुनै लेखाजोखा र अनुमान गर्न सकिने अवस्थासम्म छैन।
के अपाङ्गता भनेको साँच्चै विशेष अनि फरक क्षमता हो त?
अपाङ्गता एउटा अवस्था मात्र हो भन्ने कुराको माथि नै चर्चा भइसकेको छ। हाम्रो समाजले अपाङ्गतालाई सदा सर्वदा फरक क्षमता भएको ट्याग भिराइदिएको छ। सबै जसो औपचारिक कार्यक्रम र मञ्चहरूमा अपाङ्गतालाई फरक क्षमता र विशेष क्षमता भएका भनी बोलाइने गरिन्छ। क्याम्पसका प्राध्यापकदेखि कर्मचारीहरू सबैले अपाङ्गतालाई यिनै शब्दहरू प्रयोग गरेर आफ्ना कुराहरू राख्ने गरेका छन्। विभिन्न सञ्चारमाध्यमहरूले पनि आफ्ना समाचार र कार्यक्रमहरू प्रकाशित एवम् प्रसारित गर्दा अपाङ्गता र यसलाई संशोधन गर्ने उचित शब्दावली प्रयोग गर्नबाट चुकेको प्रशस्त देख्न र पढ्न पाइन्छ। सामाजिक सञ्जाल त झन् यसबाट अछुतो रहने कुरा नै भएन। चलेका सामाजिक सञ्जालका पेजहरूले समेत बारम्बार यस्ता शब्दहरूको प्रयोग गर्दै आइराखेको छ। अपाङ्गता अधिकारकर्मीहरूले कमेन्टबाट निरन्तर ध्यान आकृष्ट गराउँदा पनि अझै यस शृङ्खलाले निरन्तरता पाइ नै राखेको छ।
समाजका सबै तह र तप्काको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले अपाङ्गतालाई सर्वदा फरक क्षमता अनि विशेष क्षमता भनी नै राख्ने हो भने सबै सर्वसाधारण नागरिकमा नकारात्मक बुझाइ पैदा हुन जान्छ र अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मानमा ठेस पुग्न जान्छ। अर्को कुरा, यसले समाजमा नकारात्मक भाष्यको सिर्जना हुन जान्छ।
एउटा कुनै दाँत झरेको मान्छेलाई तँ थोते होस् भन्दा जति रिस उठ्छ, त्यसरी नै अपाङ्गतालाई फरक र विशेष क्षमता भन्दा आक्रोश पैदा हुन्छ। अपाङ्गता भएका व्यक्तिहरूलाई जसरी फरक क्षमता भएका व्यक्ति वा विशेष क्षमता भएका व्यक्ति भनेर बोलाउने गरिन्छ, त्यो मर्यादित र सम्मानजनक शब्द हुँदै होइन। विविधतायुक्त वर्तमान विश्वमा हरेक व्यक्तिको अरूभन्दा बेग्लै र फरक पहिचान रहेको हुन्छ। निरन्तरको साधना, रुचि र समर्पणले मानिसलाई विश्वमा फरक-फरक पहिचान एवम् क्षमता आत्मसाथ गर्दै बाँच्न अभिप्रेरित गरेको छ।
अपाङ्गता भएका व्यक्तिहरूमा फरक क्षमता हुँदो हो त, सायद उनीहरूले मुखबाट खाने कुरा खानुको साटो नाकबाट खान्थे होला। अरूले त नाकबाट श्वास फेर्छन्, विशेष क्षमता भएकै कारणले अपाङ्गता भएका व्यक्तिहरूले कानबाट सास फेर्नु पर्ने, तर त्यस्तो त कतै देखिएको छैन। बेग्लै क्षमता भएका व्यक्तिहरूले टाउकोमा जुत्ता लगाएर हिँड्नु पर्ने, खुट्टाको साटो हात टेकेर हिँड्नु पर्ने, चम्चाको साटो डाडु-पन्यू प्रयोग गरेर खाना खानु पर्ने, अरूले एक करोड कमाउँदा एक अर्ब कमाउनु पर्ने र अपाङ्गता नभएका व्यक्तिहरूले नसकेका काम सहजै गर्न सक्नु पर्ने। त्यो त कतै देखिएको छैन भने अपाङ्गता कसरी फरक वा विशेष क्षमता हुन सक्छ?
यदि अपाङ्गता भएका सबै व्यक्ति फरक क्षमता भएका हुन् भने आज सबै किन थोमस अल्बा एडिशन बन्न सकेनन्? न्युटनले जस्तो विशिष्ट योगदान अनि आइन्स्टाइन जसरी नयाँ सिद्धान्त प्रतिपादन किन गर्न सकेनन्? यहाँ उल्लेखित सबै वैज्ञानिकहरू अरूभन्दा फरक क्षमताका नै भएर ख्यातिप्राप्त छन् भने सबै अपाङ्गता भएका व्यक्तिहरू वैज्ञानिक बनेर रहनु पर्ने, तर त्यो त कतै देखिएको छैन।
विराट कोहोली र लिओनन् मेस्सी दुई फरक नाम अनि काम भएको कुरा हामी सारा विश्वलाई छर्लङ्गै छ। कोहोलीलाई जसरी क्रिकेटका सम्राट्को उपमा प्रधान गरिएको छ, त्यो उनको निरन्तरको लोभलाग्दो प्रदर्शन र प्रस्तुत गर्ने सिप र कौशलका कारण सम्भव भएको हो। यही काम मेस्सीलाई गर्न आउँदैन तर फुटबलमा उनलाई कसैले सहजै उछिन्न सक्दैन। अपाङ्गतालाई फरक एवम् विशेष क्षमताको उपमा दिनु मेस्सीबाट चौका छक्काको अपेक्षा राख्नु र कोहोलीबाट ९० मिनेट भित्र ४५ गोलको अपेक्षा गर्नु एउटै कुरो हो। सबै अपाङ्गतामा विशेष क्षमता भएको थियो भने आज सु-प्रसिद्ध गायक नारायण गोपालको स्वर सम्राट्को उपाधि सहजै खोसिन्थ्यो होला, गिनिज बुकमा दर्ज भएका सबै विश्व कीर्तिमानहरू तोडिन्थे होला र नवीन खोज एवम् आविष्कारहरू अपाङ्गताकै नाममा जोडिन्थे होला। अनि अपाङ्गता भएका व्यक्तिहरूको संसारमा एक क्षत्र राज हुन्थ्यो होला। तर हालसम्म यस्ता परिदृश्यहरू त देखिएका छैनन्।
सबैमा विशेष क्षमता थियो भने आज सबै बालक र वयस्कहरू वैभव सूर्यवंशी बन्नु पर्ने, उनले झैँ लोभलाग्दो क्रिकेट खेल पस्कनु पर्ने। तर यो त हामी सबैबाट पक्कै सम्भव छैन। उनको निरन्तरको साधना र खेलप्रतिको लगावका कारण उनमा अरूभन्दा विशेष क्षमता छ।
अपाङ्गता कुनै फरक वा विशेष क्षमता होइन। यो एक अवस्था हो जुन विभिन्न अवरोधहरूको जन्जिरबाट पैदा हुन्छ। कुनै व्यक्ति आफैँमा अपाङ्ग हुँदैन, बाहिरी वातावरण, मानवीय बुझाइ र सामाजिक बनोटले उसलाई अपाङ्गताको अवस्थासम्म अग्रसर गराएका हुन्छन्। अपाङ्गतालाई जसरी फरक वा विशेष क्षमताका नामबाट बोलाइन्छ, त्यो गलत हो। यसलाई कुनै कानुनले चिनेको छैन र स्वीकार गरेको अवस्था छैन। भलै कसैले अपाङ्गता बारे कम बुझाइ र अल्प ज्ञानका कारण यस्ता शब्दावलीहरू प्रयोग गरेको हुन सक्छ, जुन गलत र अस्वीकार्य छ। अपाङ्गतालाई बोलाउँदा अपाङ्गता भएका व्यक्ति भनेर सम्बोधन गर्नु पर्छ।
अन्त्यमा, समाजमा अपाङ्गतालाई जसरी फरक क्षमता अनि विशेष क्षमता भएका व्यक्ति भनेर स्थापित गर्न र गराउन खोजिँदै छ, त्यो निकै खेदजनक र चिन्ताजनक विषय हो। यस्ता पश्चगामी शब्दलाई कुनै कानुनले चिनेको पनि छैन र मान्यता पनि दिएको छैन। विगतमा यसको प्रयोग अनजानमा या कानुनी अस्पष्टताका कारणले भयो होला, अब वर्तमानमा यसलाई सुधार्नुपर्छ र भविष्यमा अपाङ्गतालाई उपेक्षित गर्ने र आत्मसम्मानमा ठेस पुर्याउने शब्दहरू प्रयोग गर्न पूर्ण रूपमा बन्द गर्नुपर्छ।
अपाङ्गतालाई अपाङ्गता भएका व्यक्तिहरू भनेर विभिन्न माध्यमहरूमा अवसरहरू प्रदान गर्नुपर्छ र सम्मानजनक वातावरणको सिर्जना गर्दै उनीहरूको मर्यादित जीवनयापनको सुनिश्चितता गर्नु पर्छ। आम अपाङ्गता भएका व्यक्तिहरूको जीवनप्रति सम बुझाइ राख्नु र उनीहरूलाई बहिष्करणमा परेको अनुभूति गर्न नदिनु आजको समाजको टड्कारो आवश्यकता हो।