आजकल म बडो घोत्लिएर सोच्छु, त्यो खेतको बारेमा। हतार्का खेत। मेरो बुबाको पनि बुबाको खेत। त्योभन्दा अगाडि कसको थियो मलाई थाहा भएन। मलाई यत्ति थाहा छ, त्यो खेत मेरो बुबाले अंशमा पाएको खेत हो। त्यही भएर त्यो खेत मेरो बुबाको पनि बुबाको खेत हो।
त्यो खेत मेरी आमाको पसिनाले सिञ्चित भएकाले मेरो बुबाको भन्दा बढी आमाको खेत हो। बडो अनौठो मान्छु म आजकल त्यो खेतको नाम सम्झेर अनि मनमा थुप्रै प्रश्न उब्जिन्छन्। कसले, किन राख्यो होला त्यो खेतको नाम हतार्का खेत?
मेरो बुबाले अंशमा पाएको अरू पनि खेत छ, जस्तो कि पिपलडाँडा खेत। त्यो खेतको माथि डाँडामा बडेमानको पिपलको रुख छ। त्यही भएर त्यो खेतको नाम पिपलडाँडा खेत हो। मेरो गाउँमा अरू छिमेकीहरूको पनि खेत छ, सिम खेत, पाखा खेत आदि इत्यादि। तर हरेक खेतको नामको आफ्नै अर्थ छ। जस्तो कि सिम खेत। वर्षामा उक्त खेतमा सिम पलाउँछ, त्यही भएर त्यो खेतको नाम सिम खेत।
तर हतार्का खेत नाम किन राखियो मैले आजसम्म यकिन गर्न सकेको छैन र उत्तर पाउन सकेको छैन। खासै सोध्ने जमर्को पनि गरिएन र सायद त्यो इच्छाशक्ति कहिले नपलाएर पनि होला।
हतार्का खेतको दुई भाग छ, एउटामा कुलोको पानीले भेट्छ भने अर्को भागमा कुलोको पानी लाग्दैन। धान रोपाइँको समयमा बडो समस्या हुने, कुलोको पानीले भेट्ने खेतको भागमा रोपाइँ सजिलै हुने तर कुलो नलाग्ने पट्टि भने वर्षामा परेको पानीको भल छोपेर गर्नुपर्ने। बडो मुस्किल।
मेरो घरमा मेरी आमा मात्र कृषक। मेरो बुबा काठमाडौँ सहरमा सानोतिनो जागिरे, म पढेलेखेको तर खेती गर्न नजानेको। त्योभन्दा नि अलि बढी नै अल्छी। छोरा मान्छे मेरो घरमा म अनि मेरो बुबा मात्र। मेरो बुबाले सानैमा गाउँ छाडेर सहर पसेको, कुटो, कोदालो हलो केही नगरेको नजानेको। म पनि अलिक बुझ्ने भएपछि बुबाले छोरा पढाउनु पर्छ भनेर सँगै काठमाडौँ सहर ल्याएको। हामी दुवै उस्तै खेती नगरेको, गर्न कोसिस नगरेको।
फेरि बुबाको वर्षाको बिदा नहुने, दसैँमा मात्र हुने अनि दसैँमा मात्र घर आउने। मेरो त वर्षामा पनि बिदा, दसैँमा पनि बिदा। वर्षामा पनि घर आउने, दसैँमा पनि आउने। वर्षामा घर आएर के, गर्ने केही हैन। सहरबाट गाउँ आएको मान्छे, खुट्टामा हिलो लागिहाले धोइहाल्नु पर्ने, कता खेतमा काम गर्न जानु!
रोपाइँको समयमा हतार्का खेतको कुलो नलाग्ने खण्डमा रोपाइँ गर्न बडो मुस्किल। त्यो खेतमा न एक दिन पूरा गोरु नै लाग्ने, न पूरा बाउसे नै लाग्ने, न त रोपार नै पूरा लाग्ने, त्यहीमाथि कुलो पनि नलाग्ने अनि वर्षाको भेललाई छोपेर रोपाइँ गर्नु पर्ने। हरेक साल पानी कहिले पर्छ भनेर कुरेर बस्नु पर्ने।
हरेक साल मेरो आमाको एउटै चिन्ता रहन्थ्यो, पानी परोस् तर दिउँसो नपरोस् बरु बिहान परोस् कि त राति नै परोस्। सधैँ आफूले सोचे जस्तो कहाँ हुन्छ र! दिउँसो पानी पर्थ्यो, त्यो बेला मेरी आमा अरूको खेताला जानु पर्ने, पर्म त तिर्ने पर्यो। आफू अरूको मेलामा नगए आफ्नो गर्ने बेलामा खेताला पाउनै मुस्किल हुने। अरूको काम छाडेर आउन नमिल्ने। साँझ बिहान घर गोठको काममा व्यस्त हुनुपर्ने। अनि हरेक वर्षामा राति जति बेला पानी पर्यो, त्यति नै बेला घुम ओढेर हातमा कोदाली, चाँदे र अर्को हातमा त्यो बेलाको ब्याट्रीबाट चल्ने टर्च बालेर आमा रोपाइँको लागि जानुहुन्थ्यो। रातिको समय को खेताला पाउनु ? त्यही भएर आफै बिउ काढ्ने, आफै बाउसे अनि आफै रोपार भएर खेत रोपी सक्नुहुन्थ्यो।
खै कति समय लाग्थ्यो कुन्नि, बिहान हामी उठ्दा आमा घरमा नै गाईलाई खोले बसालेर घर लिप्दै वा बढार्दै गरेको भेटिनु हुन्थ्यो। अहिले पनि मलाई ठ्याक्कै याद छैन, मेरी आमा राति कुन समयमा आएर सुत्नुहुन्थ्यो र कुन बेलामा उठ्नुहुन्थ्यो। राति सुत्नुहुन्थ्यो या थिएन, त्यो पनि थाहा छैन।
हामी सधैँ भन्थ्यौँ, ‘ह्या आमा, न त्यति खेतमा धेरै धान फल्ने, न अरू नै केही हुने, बेकार कति दुख गरेको!’
अनि मेरी आमा सधैँ भन्नुहुन्थ्यो, ‘म तेरो बाउसँग बिहे गरेर आएदेखि मैले त्यो बाँझो खेत खनेर खान सुरु गरेको हो। हरेक साल सबैतिर हरियाली हुन्छ, त्यति यो बाटो छेवैको खेत बाझो हुँदा कत्ति सुहाउँदैन। म रहुन्जेल यो खेतमा म रोपाइँ गर्छु, जति फले पनि धान फलाइरहन्छु, अब म गएपछि तिमीहरूले जेसुकै गराओ।’
म ठ्याक्क भन्न सक्दिनँ त्यो कुलो नलाग्ने खेतको भागमा रोपाइँ गर्न कति माना वा पाथी बिउ लाग्छ र त्यहाँबाट कति उब्जनी हुन्छ। तर एक दुई पटक धान झार्ने बेलाम गएको अन्दाजको हिसाबले बढी फल्यो भने १०/१५ पाथी होला। तर त्यसको लागि मेरी आमाले गरेको मेहनत र मेरी आमाको ती अनिदो रातहरू बयान गर्न सकिने खालको छैन।
मेरी आमा रहुन्जेल त्यो हतार्का खेत कुनै वर्षामा बाँझो रहनुपरेन र कहिल्यै रहेन पनि। त्यो बेला म रोपाइँ गर्न नगए पनि खेत घुम्ने बेला मौकामा गइरहन्थेँ। अहिले आमाले हामीलाई छाडेर गएको ८ वर्ष पुग्यो। यो ८ वर्षमा त्यो हतार्का खेत बाँझो छ। त्यो खेतमा मेरो पाइला नपरेको पनि ८ वर्ष जति नै हुन लाग्यो। तर हरेक वर्षको वर्षा याममा म त्यो हतार्का खेत सम्झन्छु अनि त्योसँगै मिसिएर आउँछन् मेरी आमाका कैयन अनिदो रातहरू।
आमासँग कहिल्यै सोधिएन त्यो खेतको नाम हतार्का किन राखिएको होला भनेर। खै मेरी आमालाई पनि थाहा थियो थिएन, त्यो पनि थाहा भएन। सायद त्यो बेला सोधेको भए केही उत्तर पक्का आउने थियो अनि यो कौतुहलता मेटिन्थ्यो होला।
आजकल अनुभूति हुन्छ, जीवनमा आमासँग धेरै घुलमिल हुन नै पाइएनछ। सानो हुँदा बुबासँगै सहर पढ्न भनेर आइयो। कहिलेकाहीँ बिदामा गाउँ जाँदा आमासँगै खेतबारी जाने जमर्को गरिएन। अलिक ठुलो भइयो, जागिर यता उतामा नै व्यस्त भइयो। फेरि पनि आमाको लागि समय भएन। सायद त्यति बेला समय व्यवस्थापन गरेको भए, खुट्टामा हिलो लाग्दा छि नभनेको भए, आमासँगै खेतमा गइन्थ्यो होला। राति वर्षाको भेल छोप्दै म बाउसे गर्ने अनि आमा रोपाइँ गर्ने हुन्थ्यो होला।
रोपाइँ गर्दै आमालाई त्यही बेलामा सोधिन्थ्यो होला, ‘हैन ए आमा, यो खेतको नाम केले गर्दा हतार्का खेत राख्या होला है?’
अनि आमा भन्नु हुन्थ्यो होला, ‘आ, तँलाई चाहिन्छ अनेक, खुरुक्क यता आली मिला अनि त्या खेत सम्या, चाँडो गरेर घर जानु पर्छ। पछि विसुनेको पाखाको उकालोमा सोध्लास् के के सोध्न मन छ सबै, अहिले काम गर।’
तर त्यस्तो दिन कहिले आएन। सायद मैले नै चाहिनँ। नचाहेपछि आउने कुरा पनि भएन। कौतुहलता मनमा नै रहिरह्यो। फेरि आजकल मलाई अरूसँग सोध्ने मन पनि छैन। त्यही भएर आमा आज हजुरलाई नै सोध्छु है!
आमा, साँच्चै त्यो खेतको नाम हतार्का खेत किन राख्या होला है?
हजुरलाई थाहा छ भने कुनै दिन सपनीमा आएर भनिदिनुस् न है?