'जून कति सुन्दर हुन्छ है! संसारका सबै रोमियोहरु आफ्ना जुलियटलाई त्यही जुनसँग तुलना गर्छन् अनि मन जित्छन्। संसारका अनेक सुन्दरताहरु त्यही शितल जूनसँग तौलिइन्छन्। कति भाग्यमानी छ त्यो जुन जसले जुगौंदेखि संसारको सौन्दर्यताको पर्यायको रूप लिएको छ।'
मध्यरातको आङ सिरिङ्ग हुने जाडोमा मेरो आत्मालाई जूनले भन्दा पनि बढी शितलता दिँदै लगलग काँपेर मायालु स्वरमा उसले भनेकी थिई। चम्किलो जूनलाई छुन खोजेझैं उसको मनमा रहेका उत्साहका ज्वालाहरूको बाफ पनि ऊ बोलेपिच्छे उसको मुखबाट जूनलाई छुन आकाश तिर उडिरहेको थियो।
'जूनभन्दा सुन्दर त तिमी छौं नि। जूनमा त दाग छ' जूनको शितलता महशुस गर्ने उसको इच्छालाई कायम नै राख्न काप्दै काप्दै सानो स्वरमा म बोलेँ।
'तिमी जूनभन्दा सुन्दर छौ, शान्त छौ, शितल छौ' ऊबाट केही पनि प्रतिक्रिया नआएपछि मैले फेरि थपेँ।
केही सेकेण्डको शून्यतापछि लामो सास फेर्दै मुसुक्क हाँस्दै उसले भनी- 'त्यसो भए तिमीले ठिक भनेउँ। जूनको र मेरो कथा उस्तै छ। सायद हामी दुवै सुन्दर छौँ तर हाम्रो संसार कालो छ। संसारले हाम्रो सुन्दरता आफ्नो आँखाले हेर्छ तर हाम्रो संसार कति कालो छ विचार गर्दैन।'
आफू आँखा देख्न नसक्ने भएकाले उसले मुसुमुसु हाँसेर आफैलाई व्यंग गरी।
ऊ दृष्टिविहीन थिई तर ऊ सधैं खुसी नै थिई। उसले जिन्दगीसँग कहिले गुनासो गरिन। संसारको सुन्दरता हेर्न नपाएर अन्धकारमा बस्नु पर्दा पनि उसको जिन्दगी पूर्णिमाको रातझैँ उज्यालो देखिन्थ्यो।
उसको आफैले आफैलाई मन्द मुस्कानका साथ व्यङ्ग गर्ने क्षमताले उसलाई अझै भित्रबाट बलियो तुल्याएको थियो। जिन्दगीलाई हेर्ने उसको हरेक नजरको अघि मेरा नजरहरु कमजोर र लाचार भएको महशुस हुन्थ्यो।
संसार देख्न नसक्ने उसका आँखाहरु अत्यन्तै नशालु थिए। उसका ठूला-ठूला आँखामा म कहिले संसार जित्ने प्रतिज्ञाका ज्वाला देख्थेँ त कहिले सरल अनि शान्तरूपी फराकिलो आकाश। कहिले मनको प्यास मेटाउने निलो समुन्द्रको पानी त कहिले अधेरी रातमा आँखा नदेख्दा उदाउने शितल जून।
मलाई उसकै शितलतामा रमाउनु थियो, उसकै समुन्द्ररूपी मायामा डुब्नु थियो अनि उसकै आकाशमा पखेटा फिजाई उड्नु थियो। तर उसको सामु मैले कहिले आफ्ना भावनाहरू व्यक्त गर्न सकिनँ। केवल उसका सुन्दर आँखा हेरी मात्र रहेँ।
ऊ मलाई देख्न नसक्दा पनि आँखामा आँखा जुधाएर मनको कुरा राख्न सकिनँ। आँखा जुधाएर एकअर्कालाई झुट र भ्रामक भावनाहरु साटिने संसारको यो खेलमा पनि म कमजोर र लाचार देखिएँ।
संसारले उसलाई दृष्टिविहीन भन्थ्यो तर मलाई ऊ भित्री रूपमा कहिले दृष्टिविहीन लागेन। सायद उसलाई दृष्टिविहीन देख्न संसार दृष्टिविहीन थियो होला। संसार नदेख्ने उसका आँखाहरुमा सारा संसार अटेझै लाग्थ्यो। उसका आँखाहरु मलाई संसारकै सबैभन्दा सुन्दर चीज लाग्थे।
साथीभाइहरुले 'तँ पागल भइस्, मायामा दृष्टिविहीन भइस्' भन्थे तर उनीहरुलाई के थाहाँ हरेक पटक उनीहरू मलाई दृष्टिविहीन भइस् भन्थे, त्यति पटक उसको लागि माया झन् बढ्थ्यो। कहिलेकाहीँ त मलाई साँच्चीकै दृष्टिविहीन हुन मन लाग्थ्यो।
आँखा नदेख्दा मात्र संसारका सुन्दर चिजहरु देखिन्छन् झैँ लाग्थ्यो। हामी बीचको अदृश्य संघार केवल दुई आँखाहरु बनेका थिए।
आँखा देख्नेले के नै गरे र खै? कृतिमता अनि खोक्रो सुन्दरतामा धोका खाएर दृष्टिविहीन हुन चाहने आँखाहरु पनि मेरा आँखाले नदेखेका होइनन्। तिखा काँडालाई फूल सम्झी आँखामा राख्न खोज्दा बिझाएका आँखाका दर्दनाक कहानीहरु देख्ने मेरै आँखाहरू साक्षी छन्।
मेरै आँखाहरूले कति धोका खाए, कति तिखो काँडाको वेदना सहे, कति अदृश्य धुवाँको मुस्लोमा लुकामारी खेले, कति आँसुका धारामा नुहाए अनि कति पटक गोधुलीमा अनिदो बसे लेखाजोखा नै छैन।
यी आँखाहरूले केवल एउटा कुरा मात्र सुन्दर देखें - उसका मृगनयनी आँखाहरू जुन मेरा आँखाहरूमा लुकेका ऊप्रतिको भावना देख्न असमर्थ थिए। तर मलाई केही गुनासो थिएन जबसम्म मेरा आँखाहरू उसका आँखाहरुलाई टुलुटुलु हेर्न पाइरहन्थे।
सायद यही नै मेरो जीवनको पहिलो र अन्तिम मिठो दृष्टिविहीन माया थियो, जहाँ मेरा आँखाहरु कसैको आँखा टुलुटुलु हेर्नुमा नै तृप्त भएको महशुस गर्थे।
जिन्दगीले अनगिन्ती वसन्तहरु पार गर्ला अनि अनगिन्ती वसन्तहरुले शाश्वत समय छिचोल्दै जाँदा उसका छाला खुम्चिएला तर मलाई यति थाहा छ कि उसका सुन्दर आँखाहरु कहिले चाउरी पर्ने छैनन्। यदि सारा संसार दृष्टिविहीन हुन्छ र ऊ देख्न सक्छे भने पनि उसमा सारा संसारलाई प्रभावित पार्ने क्षमता हुनेछ।
अनि म? म जीवनभर केवल उसलाई टुलुटुलु हेरी रहनेछु, जबसम्म उसले मेरो आँखाबाट संसार देख्छे अनि जबसम्म मैले उसको आँखामा संसार देख्छु।