राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले सरकारले तराई/मधेशलाई उपेक्षा गरेर बजेट ल्याएको आरोप लगाएका छन्।
नेता यादवले ५२ प्रतिशत जनसंख्या भएको तराई/मधेशलाई उपेक्षा गरेर ल्याइएको बजेट कसरी कार्यान्वय हुन्छ ? भनि सरकारलाई प्रश्न गरे।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले धेरै जनसंख्या भएको भूगोलमा २० प्रतिशत पनि बजेट विनियोजन नगरेर सरकारले तराई/मधेशलाई बेवास्ता गरिरहेको पनि बताए।
नेता यादवले बजेटले संघीयतालाई आत्मासात गर्न नसकेको पनि बताए।
गत वर्षभन्दा पनि यस वर्ष प्रदेश र स्थानीय तहलाई कम बजेट विनियोजन गरेको उनको भनाइ छ। गत वर्ष प्रदेश र स्थानीय तहलाई ३४ प्रतिशत बजेट विनियोजन गरेकोमा यस वर्ष ३० प्रतिशतमा झारेकोमा नेता यादवको आपत्ति छ।
नेता यादवले बजेट कार्यान्वयनका लागि आवश्यक अनुगमनकारी निकायको व्यवस्था पनि बजेटमा हुन नसकेको उल्लेख गरे।