सोमबार जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले एउटा विज्ञप्ति जारी गर्यो।
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को कार्यक्रममा सहभागी हुन आइपुगेको नेपाली प्रतिनिधि मण्डल र जेनेभामा भएका गतिविधिबारे जानकारी दिन सार्वजनिक गरिएको उक्त विज्ञप्तिमा टोलीको नेतृत्व गरेर गएका गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का शान्ति तथा मानव अधिकार सल्लाहकार भनिएको छ।
सोही पदीय हैसियतमा बन्दीले आज परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने तय गरिएको छ।
प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर नियुक्त हुनुपर्छ। आइतबार साँझ नेपालबाट जेनेभा उड्ने बेलासम्म बन्दीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरेको देखिन्न।
निवर्तमान परराष्ट्र मन्त्री विमला राई पौड्यालले सोमबार आफूले राजीनामा बुझाउने बेलासम्म बन्दीलाई प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गरिएको आफूले जानकारी नपाएको बताइन्।
‘मन्त्रिपरिषद्ले उहाँलाई मेरो नेतृत्वमा जाने टोलीमा विज्ञका रूपमा राख्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गरेको थिएन,’ पौड्यालले भनिन्,‘हिजो हामीले राजीनामा दिएपछि मन्त्रिपरिषद बैठक बसेर गरेको भए मलाई थाहा भएन।’
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि बन्दी सल्लाहकार नियुक्त भइनसकेको बताए।
‘उहाँलाई नियुक्त गरेको जानकारी छैन,’ मल्लले भने।
आइतबार साँझ जेनेभा जान विमानस्थल जानै लाग्दा प्रधानमन्त्री प्रचण्डले मन्त्री पौड्यालको भ्रमण रोकिदिएका थिए। अन्तिम समयमा बिनाकारण मन्त्रीलाई रोकेर बन्दीलाई प्रतिनिधि मण्डलको नेतृत्व दिएर जेनेभा पठाइएको थियो।
सोमबार प्रधानमन्त्री प्रचण्डले मन्त्री पौड्याल उतै हुँदा यता मन्त्रिपरिषद् हेरफेर नहोस् भनेर भ्रमण रोकेको बताएका थिए।
‘हामी राजीनामा पत्र बुझाउन गएका बेला प्रधानमन्त्रीले तपाईंलाई अपमान गरेको होइन, तपाईं उता हुँदा यता एमालेका अरू मन्त्रीले राजीनामा बुझाउने वातावरण बन्दा तपाईंलाई नराम्रो हुन्छ भनेर नजानुस् भनेको हो भन्नुभयो,’ पौड्यालले भनिन्।