जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन कार्य धोकापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने बताएको छ।
पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयनका लागि बुधबार आन्तरिक परिपत्र गर्दै जसपा नेपालले पार्टीभित्र कहिल्यै सैद्धान्तिक, वैचारिक तथा अन्य विषयहरूमा फरक मत वा विवाद नरहेको बताएको छ। यस्तो अवस्थामा अकस्मात संसदीय दल र पार्टीको नेतृत्व तहमा गुट खडा गरी अशोक कुमार राईको अध्यक्षतामा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने कार्यको पार्टीले भर्त्सना गरेको हो।
बैठकले निष्कर्ष निकालेको छ, 'यो कार्यले पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीजस्ता मुद्दा कमजोर बनाउने काम भएको ठहर गर्दै मधेसी, आदिवासी जनजाति, दलित, थारू, पिछडा वर्ग, मुस्लिम, अल्पसंख्यक, उत्पीडित जाति तथा राष्ट्रियताको मुक्तिको आन्दोलन धरापमा पार्ने कार्य भएको छ।'
पार्टीलाई एकताबद्ध राख्दै आगामी एकताको राष्ट्रिय महाधिवेशन सफल पार्न जारी गरेको निर्देशिका र निर्वाचनसम्बन्धी कार्यतालिका र कार्यक्रमअनुसार निर्धारित समयमै राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गरी पार्टी केन्द्रीय कार्यालयलाई जानकारी गराउन पनि बैठकमा भनिएको थियो।