यस वर्षको मनसुन याममा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले सोमबार मनसुन सिजनको हावापानी आकलन गरी सार्वजनिक गरेको हो।
विभागका अनुसार नेपालमा मनसुन सिजन जेठ १९ देखि असोज १४ अर्थात् जुन देखि सेप्टेम्बरसम्मको अवधिलाई बुझिन्छ।
यो सिजनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको विभागले आकलन गरेको छ।
सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।
गत वर्षको मनसुन अवधिमा सरदरभन्दा कम पानी परेको थियो।
गत वर्ष जेठ १८ देखि असोज १३ गतेसम्मको अवधिमा १ हजार ३०३.० मिलिमिटर वर्षा भएको थियो। चार महिनाको अवधिमा १ हजार ४७२ मिलिमिटर औसत वर्षा हुनुपर्नेमा सरदरभन्दा ११.५ प्रतिशत कम मिलिमिटर वर्षा भएको विभागले बताएको थियो।
गत वर्ष अधिकांश केन्द्रमा सरदरभन्दा कम वर्षा भएको थियो।
डडेलधुरा, दिपायल, धनगढी, सुर्खेत, नेपालगञ्ज, जुम्ला, दाङ, भैरहवा, लुम्ले, पोखरा, सिमरामा सरदरभन्दा कम वर्षा भएको थियो। काठमाडौंमा सरदरभन्दा बढी वर्षा भएको थियो।
त्यस्तै जोमसोम, जिरी, ओखलढुंगा, विराटनगर केन्द्रमा पनि सरदरभन्दा बढी वर्षा मापन भएको थियो।
जनकपुर, धनकुटा, धरान, ताप्लेजुङमा भने सरदरभन्दा कम वर्षा भएको थियो।
यस वर्ष हिउँदे वर्षा पनि न्यून भएको थियो।
विभागका अनुसार यस वर्ष हिउँदे वर्षा सरदरभन्दा ७९.२ प्रतिशत कम भएको थियो।
नेपालमा मंसिर १५ देखि फागुन १७ सम्मको अवधिलाई हिउँद याम मान्ने गरिन्छ। यो अवधिमा ६०.१ मिलिमिटर वर्षा हुनुलाई सरदर मानिन्छ।
तर यस वर्ष १२.५ मिलिमिटर अर्थात् सरदरभन्दा २०.८ प्रतिशतमात्रै पानी परेको थियो।
विभागले यस वर्ष तापक्रम पनि बढ्ने प्रक्षेपण गरेको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको विभागले आकलन गरेको छ।
त्यस्तै कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको उत्तर–पूर्वी भूभागमा अधिकतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले बताएको छ।
यस्तै देशका अधिकांश स्थानहरूमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रशितशत रहेको छ।
सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशको थोरै भूभागमा न्यूनतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले बताएको छ।
अघिल्लो वर्षको मनसुनजन्य विपदबाट ९२ जनाको मृत्यु भएको थियो। ३० बेपत्ता भएका थिए। ती घटनामा परेर १६८ जना घाइते भएका थिए।
मनसुनका समयमा पहिरोका ४५९, बाढीका १४२, भारी वर्षाका १६८ र चट्याङका १२३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको थियो।
अघिल्लो वर्ष उसले मनसुनबाट १२ लाख ५४ हजार १८१ जना प्रभावित हुने आकलन गरेको थियो।
यस वर्ष विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए।
‘विपद् पूर्वतयारी तथा प्रतिकार्य कमान्ड सेन्टर बनाएर तुरून्तै उद्धार, राहत र पुनःस्थापनामा जुट्ने गरी कार्ययोजना बनाउँदैछौं,’ उनले भने, ‘केही दिनभित्रै बैठक बसेर अन्तिम रूप दिन्छौं।’
उनले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने स्रोत साधनको विन्यासदेखि तीनै तहका सरकार र राज्यका निकायलाई समन्वयात्मक ढंगले परिचालन गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी दिए।
