सुशान्तदेव खनालले युनिग्लोब कलेजबाट १२ कक्षा पास गरेका छन्।
१७ वर्षका उनी काठमाडौंमा जारी जेन–जी आन्दोलनमा सहभागी सयौं नवयुवामध्ये एक हुन्।
पहिलोपटक यस्तो प्रदर्शनमा सहभागी हुन आएका सुशान्तलाई हामीले प्रदर्शनमा आउनुको कारण सोधेका थियौं।
जबाफमा उनले भने, 'हामीले तिरेको करबाट मन्त्री र नेताहरूका छोराछोरीले मोज गरिरहेका छन्। जनताले रगत-पसिना बगाएर कमाएको पैसाबाट उनीहरू आरामदायी र सुविधायुक्त जिन्दगी बिताइरहेका छन्। हाम्रो विरोध प्रदर्शन त्यही बेथितिविरूद्ध हो।'
उनले अगाडि भने, 'हामीले नेताहरूका बेथितिविरूद्ध आवाज उठाउन खोज्दा उनीहरू भने सामाजिक सञ्जाल नै बन्द गरेर हाम्रो आवाज दबाउन खोजिरहेका छन्। तर अब जनताको आवाज दबाउन कसैले सक्दैन। हामी बोल्छौं। सामाजिक सञ्जाल बन्द गरे सडकमा बोल्छौं। अब यी नेताहरूले जनताको आवाज बन्द गर्न सक्दैनन्।'