सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध सुरू भएको जेन–जी आन्दोलन काठमाडौंमा मात्र सीमित छैन। यो विराटनगर, पोखरा, बुटवल लगायत देशका प्रमुख सहरहरूमा फैलिएको छ।
त्यसैमध्ये विराटनगरमा जारी जेन–आन्दोलनमा सहभागी नवयुवाहरूमध्ये रोमा पराजुली एक हुन्।
विराटनगरमै स्नातकोत्तर अध्ययनरत उनी जुलुसमा सहभागीहरूलाई संयमित रहन र अनुशासिक ढंगले प्रदर्शन गर्न आग्रह गरिरहेकी थिइन्।
हामीसँगको कुराकानीमा रोमाले भनिन्, 'आजको आन्दोलन स्वतस्फुर्त हो। यो कसैको आह्वानमा भएको होइन। आन्दोलनलाई शान्तिपूर्ण र संयमित राख्नुपर्छ भनेर म अनुशासन पालना गराउन खोजिरहेकी छु।'
'तपाईं यो आन्दोलनमा किन सहभागी हुनुभयो?' हाम्रो यो प्रश्नमा रोमाले भनिन्, 'म मैरै लागि, मेरो हकका लागि आन्दोलनमा सहभागी हुनुपर्छ भनेर आएकी हुँ।'
सरकारको भ्रष्टाचार र बेथिति अति नै भएपछि नवयुवाहरू स्वतस्फुर्त सडकमा निस्केको उनले बताइन्।
'सहँदा सहँदा वाक्क भइयो। सहनै नसकिने अवस्था आएपछि हामी सरकारलाई आफ्नो आवाज सुनाउन सडकमा आएका हौं,' उनले भनिन्, 'पहिले सामाजिक सञ्जालमा मात्र सुनिने विरोध सरकारकै रवैयाका कारण अब सडकमा घन्किने छ।'