राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की सिभिल अस्पताल पुगेकी छन्।
उनी नयाँबानेश्वर प्रदर्शनमा घाइते भएकाहरूको उपचारमा मद्दत गर्न सोमबार साँझ अस्पताल पुगेकी हुन्। सबभन्दा बढी घाइते सिभिल अस्पताल लगिएको छ। त्यहाँ अहिले पनि डेढ सय घाइते उपचाररत छन्। सिभिल अस्पतालमा मात्र तीन जनाको ज्यान गएको छ।
एकैचोटि धेरै घाइते आएपछि अस्पताल अस्तव्यस्त बनेको छ। डाक्टर र नर्सहरूलाई घाइतेको उपचार गर्न धौ धौ छ।
जेनजीले गरेको प्रदर्शन क्रममा प्रहरीले गोली र बल प्रयोग गर्दा कम्तिमा १८ जनाको मृत्यु र सयौं संख्यामा घाइते भएका छन्। बानेश्वर क्षेत्र अझै पनि तनावग्रस्त नै छ।
जेनजी पुस्ताले सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गरेको हो। ११ बजेतिर प्रदर्शन गरी बानेश्वर पुगेको थियो।
१२ बजेतिर उक्त प्रदर्शनले ब्यारिकेड भत्काएपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रदर्शनकर्मीले संसद भवनको गेटमा समेत आगजनी गरेका थिए।
प्रहरीले गोली प्रहार गर्दा ठूलो संख्यामा ज्यान गएको छ।