जेन–जी आन्दोलनले सिर्जना गरेको दबाबका कारण सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउन सरकार बाध्य भएको छ।
काठमाडौं लगायत देशका विभिन्न सहरमा भएको जेन-जीहरूको विरोध प्रदर्शनमा भएको व्यापक सरकारी दमनले कम्तिमा १९ जनाको ज्यान गएको छ भने थुप्रै घाइते भएका छन्।
यो घटनापछि सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। यससँगै सरकारले बन्द गरेका फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल सञ्चालनमा आइसकेका छन्।
यसअघि यी सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालमा दर्ता हुन नआएको भन्दै सरकारले प्रतिबन्ध लगाइएको थियो।
सरकारको यस्तो निर्णयले आमजनताको व्यापार, व्यवसायदेखि विद्यार्थीहरूको पढाइ र विदेशमा रहेका आफन्तसँगको कुराकानी नै अवरूद्ध हुन पुगेको थियो।
त्यसपछि जेन-जीहरूले सरकारमा व्याप्त भ्रष्टाचार, बेथिति लगायतका मुद्दा उठाएर सोमबार आन्दोलन गरेका थिए।